September 25, 2020
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको बताएकी छिन् । सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज जुममार्फत आयोजना गरेको सामाजिक क्षेत्रमा महिलाको भूमिका विषयक बहस कार्यक्रममा उनले भनिन् , “महिलालाई नेतृत्व तहमा ल्याउनु मात्र नभई उनीहरुको आर्थिक विकास आजको प्रमुख आवश्यकता हो ।” महिलाको आर्थिक विकास नभई समाजमा समानता आउन नसक्ने उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला राईले नेपालको संविधानमा महिलाको ३३ प्रतिशत नेतृत्व सुनिश्चित गर्नुअघि नै महासङ्घले यो अवधारणालाई कार्यान्वयनमा ल्याइसकेको उल्लेख गरिन् । सङ्घीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरा जैरुले महासङ्घमा आफू शुरुदेखि नै क्रियाशील रहेकाले यही संस्थामार्फत नेतृत्वमा पुगेको गर्व व्यक्त गरे। सुदूरपश्चिम प्रदेशसभाका सांसद पूर्णा जोशीले महिलाको सहभागिता र उनीहरुको सोचबिना समुन्नत समाजको परिकल्पना समेत गर्न नसकिने तर्क राखिन् ।
सो अवसरमा वन तथा वातावरण मन्त्रालयको जलवायु महाशाखाका प्रमुख डा राधा वाग्लेले हरेक सामाजिक काममा महिलाको भूमिका र योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उनले भनिन्, “सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।” समाज कल्याण परिषदका सदस्य डा मणिराम बन्जाडेले महासङ्घले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा महिलाको नेतृत्व बढाउँदै लगेको बताइन । महासङ्घकी केन्द्रीय अध्यक्ष भारती पाठकले महिलामैत्री नीति बनाउन तीनै तहका सरकारलाई आग्रह गरिन् ।
प्रकाशित मिति:September 25, 2020
November 22, 2024