December 22, 2024
दार्चुला, दार्चुलामा नेपाल–भारत सीमा छुट्याउने महाकाली नदी पार गरेर अनुमति बिना भारतीय जेसीबी नेपालतर्फ आएपछि जेसीबी मेसिन र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
नदीको धार नेपालतर्फ फर्काउने क्रममै भारतीय जेसीबी नदी पार गरेर नेपालतर्फ आएको भन्दै स्थानीयले आइतबार स्काइभेटर मेसिन र चालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
दार्चुलाबासीको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले नदीको धार नेपालतर्फ धकेलिने गरी आफूखुसी तटबन्ध निर्माण गरिरहेको छ ।
नेपालतर्फ तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामाग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम गर्दै आएको छ ।
भारतीय पक्षले नेपाली प्रशासनसँग समन्वय नगरेरै नेपाली भूमिमा समेत स्काइभेटर चलाउन थालेपछि स्थानीय आक्रोशित भएका हुन् ।
अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैन् ।
तर, भारतले अन्तर्राष्ट्रिय कानून र आपसी सहमतिबेगर महाकालीको बहाव नेपालतर्फ फर्कने गरी विगतदेखि नै तटबन्ध बनाइरहेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।
भारतीय पक्षले नेपाली सीमामा दादागिरी गर्दै आएको स्थानीय महेश भट्टले बताए । केही दिन पहिले पनि भारतीयले नेपालीहरुलाई ढुगां हानेको स्थानीयको आरोप छ ।
गत वर्षपनि भारतले नेपालतर्फ नदीको धार फर्किने गरी खलंगास्थित नदी किनारमा तटबन्ध निर्माणको काम गरेको थियो ।
नेपालतर्फबाट स्थानीयले पटकपटक भारतीय दादागिरीको विरोध गरेपनि सरकारी पक्षको उदासिनताका कारण भारतीय पक्षले धमाधम काम गर्दै आएको छ ।
हिउँदमा महाकाली नदीमा पानीको सहत घटेको मौका छोप्दै नेपालतर्फ पानीको धार फर्काएर भारतीय पक्षले पारिपट्टि नेपालको भन्दा ठूलो तटबन्ध बनाउने गरेको स्थानीय कृष्ण धामीले बताए ।
नेपालले यसअघि महाकाली नदी किनारको धेरै भाग छोडेर संरचना निर्माण गरेको थियो ।
ूहामीले महाकाली नदीको धेरै भाग छोडेर नेपालतर्फकै भूमिमा तटबन्ध गरेका थियौंू, स्थानीय सुन्दर धामीले भने, तर भारतले भने महाकाली नदीको सीमाना मिचेर तटबन्ध निर्माण गरिरहेको छ।
२०७० सालमा बाढी आउनुअघि नेपालकै भूमि रहेको क्षेत्रमा अहिले भारतले कब्जा जमाएको उनले बताए ।
दार्चुलाबासीले महाकाली नदीको धारसमेत परिवर्तन गरी नेपालतर्फको खलंगा बजारलाई क्षति पुग्ने गरी भारतले तटबन्ध निर्माण गरिरहेको भन्दै सो कार्य बन्द गराउन विगतदेखि नै जिल्ला प्रशासनसँग माग गर्दै आएका छन् ।
आइतबार पक्राउ परेको जेसिबी चालकलाई समेत कार्वाहीको माग गरिएको छ ।
पक्राउ परेको जेसिबी मेसिन नेपालतर्फ नै रहेको र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।
नेपाली सीमाबाट पक्राउ परेका भारतीय स्काइभेटर चालकले प्रारम्भिक सोधपुछका क्रममा भूलबस (गल्तीले) जेसिबी नेपालतर्फ पुगेको बयान दिएको प्रजिअ जोशीले बताए ।
स्थानीयबासीले भने नेपाल सरकार र प्रशासनले भारतीय विस्तारवादी प्रवृत्तिका विरुद्ध कडा कदम चाल्नुपर्ने माग गरेका छन् ।
जेसिबी नेपालतर्फ आएर पक्राउ परेपछि घटनाबारे अनुसन्धान भइरहेको र सीमामा देखिएको समस्या समाधान गर्न छलफल भइरहेको प्रजिअ जोशीले बताए ।
प्रकाशित मिति:December 22, 2024
December 22, 2024
December 21, 2024