काठमाण्डू, मानव बेचबिखनविरुद्धकी अभियन्ता शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारको निधन भएको छ।
आज बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा सुनिताको मृत्यु भएको उनका दाजु तीर्थ दनुवारले जानकारी दिए।
उनका श्रीमानले बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए।
त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्युको कारण खुल्न भने बाँकी छ।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन्।
उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो।
दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो।
सन् १९७७ मा दैलेखेका उनको जन्म भएको थियो।