रास्वापा सभापति लामिछानेको थुनछेक बहस आजबाट, सोमवार पालै आएन

Nepal Cover
८ पुष २०८१, सोमबार
image

पोखरा, तीन कसूरमा मुद्दा लागेका निलम्बित सांसद रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ ।

उनीमाथि आइतबार तीन कसूरमा मुद्दा चलाइएको थियो । थुनछेक बहसका लागि हिजो अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

उनीमाथि तीन कसूरमा मुद्दा दर्ता भएसँगै सांसदबाट निलम्बन गरिएको छ ।

रवि लामिछाने सांसदबाट निलम्बित

उनले पार्टीको कार्यवाहक सभापतिमा उपसभापति डीपी अर्याललाई सिफारिस गरेसँगै डीपी सोमबारदेखि नै कार्यवाहक भएका छन् ।

रविकै सिफारिसमा डीपी रास्वपा कार्यवाहक सभापति

सरकारी वकिलको कार्यालय कास्कीले रवि, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागिमात्र प्रतिवादी कायम गरिएको छ ।

पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनदेखि ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो ।

लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अभियोग पत्र दर्ता गरिएको छ ।

गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो । १८ असोज २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिए पनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ ।

लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसूरमा तथा जीबी राई र लीला पछाईंलाई राष्ट्र बैंक ऐन अन्तर्गतको कसूरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो ।

रवि लामिछाने र जीबी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

सूर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । उनी कार्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

उनलाई पाँच ओटा सहकारी ठगीको बारेमा बयान लिन रुपन्देही, काठमाडौँ, चितवन र पर्सा पनि लगिएको थियो ।