December 29, 2024
मनहरी- हेटौँडा-६ निवासी कृष्णप्रसाद घोरासैनी खाडी मुलुकबाट फर्किएर चार वर्षदेखि भैँसीपालन पेसामा रमाउँदै आएका छन्।
युवा पुस्तालाई चुनौती दिँदै उनी भैँसीपालनमा सक्रिय छन्। घोरासैनीको दैनिकी झिसमिसे बिहान उठेदेखि साँझसम्म गोठमै बित्ने गर्दछ।
उमेरले ५० वर्ष टेक्न लागेका उनी अहिले पनि भैँसी गोठमा हुने सबै कार्यमा सक्रिय छन्। बिहानको गोठधन्दा सकेर दूधको क्यान बोक्दै स्थानीय खुवा बजार चुच्चेखोलामा भेटिएका घोरासैनीले कृषि पशुपालन पेसाबाट सन्तुष्ट देखिन्छन्।
यस पेसामा हेर्ने दृष्टिकोण सकारात्मक नपाए पनि विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले पशुपालनमा लागेको उनले सुनाए।
सुरुमा नेपाल आए पनि के काम गर्ने भनेर अलमल परियो, साथीभाइ आफन्तसँगको सल्लाहमा नमुना कार्य गर्ने भन्दै यस पेसामा आकर्षित भएको उनी बताउँछन्।
सत्र वर्षको वैदेशिक रोजगारीपछि हेटौँडामा पुर्ख्यौली १५ कठ्ठा जमिनमा फार्म निर्माण गरी पशुपालनमा सक्रिय रहेका घोरासैनी कृषिमा देखिएको सम्भावनालाई चरितार्थ गर्ने सोचमा छन्।
उनी २०५९ सालपछि साउदी अरब, यूएई, कतारलगायतका देशहरुमा रोजगारीको सिलसिलामा पुगेका थिए।
लामो समय विदेश बस्दा सन्तुष्टि नमिलेपछि २०७७ सालमा उनी स्वदेशमै कृषि तथा पशुपालन क्षेत्रमा केही गर्ने सोच बोकेर फर्किए।
औद्योगिक वातावरण स्वास्थ्य र सुरक्षा विषयमा स्नातक तहमा इन्जिनियरिङ अध्ययन गरेका घोरासैनीले नेपालमा तत्कालीन जिल्ला विकास समिति मकवानपुर, रुकुमलगायतका जिल्लामा तथा चमेलिया-दार्चुला सडक खण्डको गुणस्तर निर्धारक भएर पाँच वर्ष काम गरेका थिए।
तत्कालीन समयमा मुलुकमा जारी सशस्त्र युद्धका कारण काम गर्ने अवस्था नभएपछि उनले विदेश जानुको विकल्प देखेनन्।
‘त्यसबेलाको कुरा गर्दा पनि आँशु आउछ, स्वेदेशमै केही गर्छु भनेर सरकारी सेवा गरेको थिएँ तर काम गर्ने वातावरण नबनेपछि बाध्य भएर विदेसिनु पर्यो’, उनले भने।
अध्ययनमा लगानी गरेअनुसारको कमाइ पनि नेपालमा देखिएन, अनि देशको अवस्था पनि राम्रो भएन ज्यान जोगाउनै भए पनि वैदेशिक यात्रामा लाग्नु बाध्यता बनेको उनी सुनाउँछन्।
सत्र वर्ष विदेश बस्दा पैसा कमाए पनि देशप्रतिको मोहले उनलाई छाडेन। स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले गाउँ फर्किएका उनले अन्ततः पशुपालन व्यवसायलाई रोज्न पुगे।
उनले २०७७ सालदेखि गाई तथा भैँसीपालनलाई पेसागत रुपमा थालनी गरे। यससँगै माछापालन पनि गरे।
हेटौँडा-१७ गैरीगाउँमा पुर्खौली जमिनमा १३ वटा गाई र सातवटा भैँसीपालनबाट यस पेसालाई सुरु गरेका उनले उतिबेला सोचेजस्तो आम्दानी पाएनन्। ठूलो लगानीमा होमिएका उनले सरकारीस्तरबाट पनि खासै अनुदान नपाएको गुनासो गरे।
युवालाई नेपालमै स्वरोजगारमूलक नीति ल्याउने राज्यले काम गर्न खोज्ने युवालाई झन्झटिलो प्रक्रियामा गाँजेपछि घोरासैनीको मनमा चिसो पस्यो।
त्यतिबेलामा देशमा गाईपालनको पेसामा धेरै जनाको आकर्षण बढे पनि गाईबाट उत्पादित दूध निकासीमा सुस्त देखेपछि लगभग एक वर्ष उनले घाटामै फार्म सञ्चालन गरे।
स्थानीय खुवा बजारमा भैँसीको दूध आवश्यक देखेपछि आफू भैँसीपालनतर्फ आकर्षित भएको बताए। दूध बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ।
‘उद्यम गरौँ, उद्यमी बनौँ’ भन्ने सोचका साथ करिब डेढ करोड रुपैयाँको लगानीबाट उनले जैमिनी एग्रोफार्म कम्पनी प्रालिमार्फत पशुपालन हात हालेका हुन्।
स्थानीय बजारमा गुणस्तरीय दूधको आपूर्ति गर्ने सोच बोकेर रोजगार तथा स्वरोजगार, उद्यमशीलताको नमूना बन्ने र कृषिमा देखिएको सम्भावनालाई युवा पुस्तामाझ आकर्षित गर्ने उद्देश्यले पेसामा होमिएको उनको भनाइ छ।
बजारको माग धान्न अब भैँसीको संख्यालाई सयको हाराहारीमा पुर्याउने उनको सोच छ। भैँसीको संख्या बढाएर अझ फार्मलाई बृहत बनाउने सोच रहे पनि लगानीको अभावमा व्यवसाय विस्तार गर्न नसकेको उनको भनाइ छ।
अनेक कागजी झन्झटका कारण सरकारी अनुदान नलिए पनि सहुलियत कर्जामा उनले यस पेसालाई निरन्तरता दिँदै आएका छन्।
सत्र वर्ष विदेश बस्दा पैसा कमाए पनि देशप्रतिको मोहले उनलाई छाडेन। स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले गाउँ फर्किएका उनले अन्ततः पशुपालन व्यवसायलाई रोज्न पुगे।
खुवाका लागि ‘हब’ बन्दै गएको हेटौँडा-६ चुच्चेखोला घोरासैनीको फार्मबाट उत्पादित दूध आपूर्ति हुने मुख्य स्थान हो।
सुरुमा भैँसीभन्दा गाईको संख्या बढी भएकाले गाईको दूध खुवा उत्पादनमा उति बिक्री नभएपछि उनले भैँसीको संख्यालाई बढाउँदै गए। घोरासैनीको फर्मबाट हाल ४५ वटा भैँसीबाट दैनिक दुईसय ५० लिटर दूध उत्पादन हुने गर्दछ।
उनले उत्पादित दूध स्थानीय खुवा बजारमा खपत भइरहेको बताए। चार वर्षको अनुभवमा घोरासैनीले यस पेसाप्रति आफू सन्तुष्ट रहेको बताए।
दूध बिक्रीबाट मासिक आठ लाख ५० हजार रूपैयाँ आम्दानी हुने गरेको उनी बताउँछन्। पशु आहार, कर्मचारी व्यवस्थापनमा मासिक सात लाख रूपैयाँ खर्च हुने गरेको उनको भनाइ छ। उनको फर्ममा अन्य पाँच जनाले रोजगारी पनि पाएका छन्।
गाउँमा युवाहरुको विदेश मोहका कारण कामदारको अभावले निकै समस्या परेको उनी सुनाउँछन्।
बजारमा सन्तुलित पशुआहार अभाव, अस्वाभाविक मूल्य वृद्धिले पनि व्यवसायबाट सोचेअनुसार प्रतिफल लिन नसकिएको उनी बताउँछन्।
समाजबाट यस पेसाप्रति अपेक्षाकृत सहयोग नपाएको दुखेसो गर्दै स्थानीय सरकारले वास्तविक कृषकलाई चिनेर कृषि नीति निर्माणमा भएको कमीकमजोरी सुधार गर्नसके यस पेसामा अन्य युवाको पनि आकर्षण बढ्ने उनको बुझाइ छ।
उनले भैँसीको लागि नजिक रहेको छिमेकीको एक बिगाहा जमिन वार्षिक साठी हजार रुपैयाँ भाडामा लिएर डालेघाँस लगाएका छन्।
गाउँमा खेतीपाती कम हुन थालेकाले छिमेकी जिल्लाबाट चर्को मूल्यमा परालजन्यवस्तु खरिद गर्नुपर्ने बाध्यता छ। डालेघाँसले मात्रै पुग्दैन बाध्य भएर पराल, भुस खरिद गर्नुपर्ने हुन्छ।
घोरासैनीले १० कठ्ठा जग्गामा माछापोखरी बनाएर माछापालन व्यवसायलाई पनि सँगै लगेका छन्। उनले तीन लाख रूपैयाँ खर्चेर पोखरी निर्माण गरी त्यसमा विभिन्न प्रजातिका एक हजार माछाका भुरा हालेका छन्।
पोखरीमा रउ, कमनकार, बिग्रेड, ग्रासलगायतका प्रजातिका माछा रहेका छन्। माछापालनबाट पनि वार्षिक एक लाख रुपैयाँ कमाई गर्ने गरेको बताए।
नेपालमा जे काम गरे पनि राम्रै आम्दानी गर्न सकिन्छ तर त्यसमा अनुसन्धान, मेहनत, बजार अध्ययन हुनुपर्छ, अरुको लैलै देखासिकीमा लागेर काम गर्दा सफलता पाउन गाहे हुने उनको ठम्याइ छ।
नेपालमा पशुपालनको प्रचुर सम्भावना हुँदाहुँदै पनि सरकारी उदासीनता र समाजको गलत सोचका कारण पशुजन्य पदार्थमा समेत आत्मनिर्भर हुन नसकेको उनी बताउँछन्।
पशुपालनलाई प्रोत्साहन गर्ने नीतिअन्तर्गत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा वास्तविक किसानले लाभ लिन नसकेको उनको भनाइ छ।
केही वर्षयता व्यावसायिकरूपमा पशुपालन गर्ने क्रम बढ्न थालेपछि स्थितिमा केही सुधार भए पनि अझै विस्तार हुन नसकेको उनको धारणा छ।
उनी भन्छन्, ‘पशुपालन अपेक्षाकृत बढी जोखिमपूर्ण व्यवसाय भएकाले पशु बीमाको प्रचलन व्यापक बनाउन सके मात्रै पनि पशुपालक किसानले ठूलो राहत पाउने छन्।’ घोरासैनीबाट प्रेरित भइ जिल्लाका अन्य युवाहरु पनि व्यावसायिक पशुपालनतर्फ आकर्षित छन्।
जिल्लामा एक लाख पन्ध्र हजार तीन सय ३८ भैँसीको संख्या रहेको पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताए।
उनका अनुसार ४६ हजार सात सय ३४ स्थानीय जातका भैँसी, ४९ हजार आठ सय ८३ वटा वर्णशंकर र १८ हजार सात सय २१ वटा उन्नत जातका भैँसीको तथ्यांक रहेको छ।
साथै, जिल्लामा स्थानीय जातका ४२ हजार दुई सय ८३, वर्णशंकर ५५ हजार एक सय ६७ र उन्नत जातका १३ हजार दुई सय ५५ गरी एक लाख नौ हजार सात सय पाँच वटा गाई रहेको बताइएको छ।
पशुपक्षी तथा मत्स्य उत्पादन कार्यालयको २०७९/८० को तथ्यांकअनुसार वार्षिक पाँच करोड २७ लाख लिटर उत्पादन हुने गरेको छ।
जिल्लामा सञ्चालित फार्ममध्ये दुई सय ५८ वटा कृषि तथा पशुपक्षीपालन फार्म पशुसेवा कार्यालयमा सूचीकृत भएका छन् भने ७४ वटा व्यावसायिक गाईपालन फार्म मात्रै सुचीकृत भएको डा. ठाकुरले बताए।
रासस
प्रकाशित मिति:December 29, 2024
December 31, 2024