इजरायली आक्रमणमा ९ प्यालेस्टिनीको मृत्यु

  Sampatti News Online

January 2, 2025

एजेन्सी , इजरायल र गाजाबीच १४ महिनादेखि चलिरहेको युद्धको हालसम्म कुनै समाधान निस्किएको छैन्।

विश्वले नयाँ वर्षलाई हर्षोल्लासका साथ मनाइरहेको बेला यो वर्ष गाजाका बासिन्दाका लागि भने कुनै राहत आएन।

गाजा अधिकारीहरूले बुधबार इजरायली आक्रमणमा परी कम्तीमा ९ प्यालेस्टिनीहरू मारिएका बताएका छन्।

जसमा अधिकांश महिला र बालबालिका रहेका बताएका छन्। इजरायली सेनाले उत्तरी गाजाको जबलिया क्षेत्रमा रहेको एउटा घरमा आक्रमण गर्दा यस क्षेत्रको अवस्था झनै बिग्रिएको छ।

यो क्षेत्र युद्धका कारण पूर्ण रूपमा ध्वस्त र अलग अलग भइसकेको छ। गाजाको स्वास्थ्य मन्त्रालयले यस हमलामा एक महिला र चार बालबालिकासहित सात जनाको मृत्यु भएको र १२ जनाभन्दा बढी घाइते भएको जानकारी दिएको छ।

मध्य गाजाको बुरेज शरणार्थी शिविरमा बुधबार भएको अर्को आक्रमणमा अल(अक्सा सहिद अस्पतालले एक महिला र एक बालकको मृत्यु भएको पुष्टि गरेको छ।

हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेपछि हिंसा बढ्दै गएको छ। हमासको यो आक्रमणमा १२०० भन्दा बढी मानिस मारिएका थिए भने करिब २५० जनालाई बन्धक बनाएको थियो।

जवाफमा इजरायलले गाजामा ठूलो मात्रामा हवाई र जमिन आक्रमण गरेको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४५ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।

जसमा आधाभन्दा बढी महिला र बालबालिका छन्। इजरायली सेनाले आफ्नो आक्रमण हमासका लडाकुहरूलाई मात्र लक्षित गरेको र सर्वसाधारणको मृत्युका लागि हमासलाई जिम्मेवार ठहराएको दावी गरेको छ।

इजरायलले आरोप लगाएको छ-हमासले जानाजानी घना जनसंख्या भएको क्षेत्रबाट आक्रमण गरेको छ, जसमा सर्वसाधारणको मृत्यु भएको छ। सेनाले हालसम्म १७ हजार हमास आतंकवादी मारिएको पनि बताएको छ।

प्रकाशित मिति:January 2, 2025