January 5, 2025
काठमाण्डू, असोज दोस्रो साता आएको बाढीपहिरोका कारण बीपी राजमार्ग क्षतिग्रस्त भएको तीन महिना पूरा हुँदा पनि पुनर्निर्माणका लागि अहिलेसम्म सम्बन्धित निकायको ध्यान जान सकेको छैन भने सडक निर्माणमा अन्योल देखिएको छ ।
क्षतिग्रस्त राजमार्ग अस्थायी रूपमा सञ्चालन भएको महिनौँ हुँदासम्म यसको दिगो पुनर्निर्माणको प्रक्रिया सुरु नहुँदा आगामी वर्षायाममा पनि यात्रुले सास्ती पाउने हुन् कि भन्ने चिन्ता सुरु भएको छ ।
बाढीपहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग कसले निर्माण गर्ने भन्ने विषय यकिन हुन सकेको छैन् । राजमार्ग पुनर्निर्माणका लागि कोहीले जापान
अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई अनुरोध गर्नु पर्छ र कोहीले असर नपर्ने अन्य केही योजनालाई दुई वर्षका लागि अगाडि नबढाई सरकार आफैँले पुनर्निर्माणको काम गर्नुपर्ने सुझाव दिएका छन् ।
सडक डिभिजन कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर (सिडिई० सुमन योगेशले यो राजमार्ग पुनर्निर्माण गर्न कुनै प्रक्रिया अघि नबढेको बताए ।
उनले क्षतिग्रस्त राजमार्ग पुनर्निर्माणका लागि कार्यालयले सर्भे र डिजाइनको काम सम्पन्न गरिसके अन्य काम सुरु गर्न ढिला भइसकेको बताए ।
प्रक्रिया नै सुरु भएन
बाढीपहिरो गएको तीन महिना सात दिन पूरा भएको छ । सडक डिभिजन कार्यालयले प्रारम्भिक बजेट व्यवस्थापनका लागि सडक विभाग, अर्थ मन्त्रालयसँग अनुरोध गरेकोमा अहिलेसम्म पुनर्निर्माणका लागि बजेट व्यवस्थापन हुन सकेको छैन् ।
अर्थ मन्त्रालयले राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर बजेटबारेमा छलफल अघि बढाएको जानकारी दिएको छ ।
“पुनर्निर्माणको काम सुरु गर्न ढिला भइसकेको छ, सुरुमा अस्थायी रूपमा यातायात सञ्चालनका लागि काम गरेका हौँ, अहिलेसम्म बजेट व्यवस्था भएको छैन, वर्षायाममा बाढी आयो भने बाटो पूर्ण बन्द हुने छ,” सिडिई योगेशले भने ।
उनले वीपी राजमार्ग पुनर्निर्माणका लागि बजेट व्यवस्थाका साथै तीन महिना लाग्ने खरिद प्रव्रिmयालाई छोट्याएर १५र२० दिनको समयमा प्रव्रिmया पूरा गरेर सम्झौता गरी काम अघि बढाउनुपर्नेमा जोड दिए ।
खरिद प्रक्रियालाई तीन महिना नै लगाइयो भने चैत अन्तिमसम्म खरिद प्रक्रिया लाग्ने र वैशाखबाट खोलामा काम गर्न नसकिने पनि उनले भने ।
नौ अर्ब ६६ करोड रुपियाँ लाग्ने
सडक डिभिजन कार्यालय भक्तपुरले गरेको डिजाइन अनुसार क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि नौ अर्ब ६६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
“क्षतिग्रस्त राजमार्ग पहिले ‘इन्टरमिडिएट लेन’ को बाटो थियो, अहिले हामीले पुनर्निर्माण गर्दा दुई लेनको बनाउँछौँ, खोलाको स्कोर डेप्थ (बाढीले कटान गर्न सक्ने सतह) लाई समेत नापजाँच गरी त्यसको मापदण्डको आधारमा अग्लो पर्खाल लगाउनुपर्ने र सोही अनुसार राजमार्ग निर्माण गर्नुपर्ने भएकाले राजमार्ग पुनर्निर्माणको खर्च बढे पनि सडक दिगो बन्नेछ,” सिडिई योगेशले भने ।
उनले बाढीपहिरोले क्षति गरेको स्थानबाट सडकको ‘एलाइन्मेन्ट चेन्ज’ गरेर बनाउन सकिने अवस्था नरहेको बताउँदै पुुरानै ‘एलाइन्मेन्ट फलो’ गरेर खोलाको बगरबाट नै सडक लैजानुपर्ने भएकाले सडकका लागि आरसिसी, प्लम्प वाल, ग्याबिन वाल लगाउनुपर्ने बताए ।
राजमार्गका केही स्थानमा खोलाको ‘बेड लेबल’ भन्दा तल खन्न सक्ने ‘स्कोर डेप्थ’ सम्म पाइलिङ गर्ने सडक पुनर्निर्माणका लागि डिजाइन तयार भएको जानकारी उनले भने ।
तत्काल डेढ अर्ब आवश्यक
सरकारले राजमार्ग पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गरेर खरिद प्रव्रिmया छोट्याएर काम सुरु गर्नका लागि चालू आर्थिक वर्षका लागि डेढ अर्ब रुपियाँ बजेट व्यवस्थापन गरे काम सुरु हुने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
“केही दिनमा बजेटको व्यवस्था भएमा बाढीबाट क्षति भएको जोखिमपूर्ण (व्रिmटिकल) स्थानहरू मङ्गलटारको बोक्सीकुना, माम्तीलगायत स्थानमा पर्खाल लगाउने काम गर्न सकिने छ भने खोलामा भएको सामग्री निकालेर त्यसलाई फिलिङ (सम्याई) गरेर वर्षामा गाडी चलाउन सकिन्छ,” सिडिई योगेशले थप्नुभयो, “अब ढिलो भयो भने वर्षामा गाडी चल्ने अवस्था हुन्न, जसले गर्दा राजधानी जोड्ने नजिकको वैकल्पिक बाटो चल्न सक्ने अवस्था हुन्न ।
तेमालको बाटो साँघुरो, लामो र कच्ची सडक भएकाले आपत्कालीन गाडी चलाउन सकिन्छ, निजी र सार्वजनिक सवारी चलाउन सकिन्न, यसको विकल्पमा कि रामेछाप, चरीकोटको बाटो प्रयोग गर्नुपर्ने हुन्छ कि हेटौँडाको बाटो प्रयोग गर्नुपर्ने अवस्था आउँछ ।”
जाइकाको औपचारिक निर्णय आएन
जापान सरकारको अनुदान सहयोगमा बिपी राजमार्ग निर्माण भएको हो ।
बाढीपहिरोका कारण बीपी राजमार्गमा क्षति भएपछि जापान सरकार र जाइकाका प्रतिनिधिले दुई/तीन पटक क्षतिग्रस्त राजमार्गको स्थलगत अनुगमन गरे पनि पुनर्निर्माणको विषयमा जापान सरकारको ठोस निर्णय नआएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।
स्थलगत सडक हेरेपछि मन्त्रालयमा एक तहको छलफल भए पनि जाइकाले क्षतिग्रस्त सडकको पूरै भाग वा केही जोखिमपूर्ण भाग बनाइदिन सक्ने अनौपचारिक कुरा भए पनि हालसम्म लिखित र औपचारिक निर्णय भएको छैन् ।
दुई वर्षमा पुनर्निर्माण सकिने
सरकारले चाँडै स्रोत सुनिश्चित गरेर सडक पुनर्निर्माणको काम सुरु गरेको खण्डमा दुई वर्षभित्र क्षतिग्रस्त बीपी राजमार्गको काम पूरा हुने दाबी गरिएको छ ।
“सरकारले बजेट व्यवस्था गरेको खण्डमा दुई वर्षमा सडक निर्माण सम्पन्न गर्न सकिनेछ,” सिडिई योगेशले भने ।
उनले जाइकाले वातावरणमैत्री सडक निर्माण गरेको बताउँदै सडकको भूगोल र अहिलेको अवस्था हेर्दा पहिलेको प्रविधि प्रयोग गर्न नसकिने बताए ।
उनका अनुसार जाइकाले वातावरणमैत्री सडक बनाउने नीति अवलम्बन गरियो । यसरी काम गर्दा खोलामा बाढी आउँदा त्यसले कटान गर्न सक्ने भागको मूल्याङ्कन नगरी सडक निर्माण गरेका स्थानको सबै संरचना बगाएको र खोलाको गहिराइ (डेप्थ) मूल्याङ्कन गरी काम गरेको स्थानका सडकमा क्षति पु¥याएको छैन् ।
त्यसैले अब सडक निर्माण गर्दा बाढी आउँदा पनि त्यसले खन्ने भागको गहिराइको मूल्याङ्कन गरी संरचना निर्माण गरिने सडक डिभिजन भक्तपुरले जनाएको छ ।
राजधानी काठमाडौँलाई तराईसँग जोड्ने बनेपा–सिन्धुली–बर्दीबास सडक योजना सन् १९६० तिर योजना गरी केही भाग निर्माण भएको थियो ।
त्रिभुवन राजमार्गको निर्माणपछि यो सडकको निर्माण कार्य स्थगित भएको थियो ।
वि.सं २०५० को भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजमार्ग तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त भएपछि नेपाल सरकारले यो सडकलाई वैकल्पिक मार्गका रूपमा विकास गर्ने सोच अनुरूप जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट निर्माण कार्य सुरु भएको थियो ।
सडक वि.सं २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति:January 5, 2025