मितेरी सहकारी ठगी प्रकरणमा काँग्रेस उपसभापति धनराजसँग सीआईबीले लियो दोस्रो पटक बयान

  Sampatti News

January 7, 2025

काठमाण्डू, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगी प्रकरणमा दोस्रो पटक बयान गराएको छ ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर करिब ५ घण्टा बयान लिइएको हो । यसअघि उनलाई सोही प्रकरणमा कार्तिक २८ मा सोधपुछ गरिएको थियो ।

मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलनमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ । ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् ।

प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको अनियमिततामा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे सोधपुछ गरेको छ ।

बयानका क्रममा गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको र मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको बताएका छन् ।

प्रकाशित मिति:January 7, 2025