ऋषिकेश पत्नी अन्जलालाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

बयान, थुनछेक र आदेश एकै दिन

  Sampatti News

January 9, 2025

विराटनगर, सहकारी प्रकरणमा फरार रहेकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

इजलासले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै अन्जलाले १० लाख रूपैयाँ बुझाएकी छन् ।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।

जिल्ला अदालतका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासमा बयानपछि थुनछेक बहस भएको हो । अदालतले उनलाई १० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी कोइरालाको बयानपछि सरकारी वकिल र अञ्जला पक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।

मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासमा अभियोग पत्रमा उल्लेख भएका केही विषयलाई सरकारी वकिललाई न्यायाधीशले प्रस्ट्याउन भनेका थिए।

सरकारी पक्षले २०७२÷०७३ देखि अन्जला सञ्चालक समितिमा रहेकोले उनीसहित सबै अभियुक्तको दायित्व हुने जवाफ दिएका थिए।

कोइरालाको तर्फबाट बहस गरेका कानून व्यवसायीले जति कसुर गरेको हो, त्यति मात्र सजाय हुनुपर्नेमा गोलमोटल अभियोग लगाइएको तर्क गरेका थिए ।

२२ करोड २८ लाख २७ हजार ७ सय रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा गरिएको छ।

भगीरथ खनाल एन्ड एसोसिएट्सको लेखापरीक्षण प्रतिवेदनमा कुनै पनि ठाउँमा अन्जलाले रकम अपचलन गरेको भन्ने नदेखिएको, २० जनाको जाहेरीमा कहीँकतै पनि अन्जलाको विरुद्धमा किटानी नभएको तथा १९ जनाले गरेको कागजमा समेत नदेखिएकोले सहकारीको रकम हिनामिना तथा अपचलनमा अञ्जलताको कुनै संलग्नता नरहेको दाबी उनका कानुन व्यवसायीले गरेका थिए।

अन्जलाको तर्फबाट ९ जना वरिष्ठ अधिवक्तासहित ११ जनाले बहस गरेका छन्।

उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियार, अन्जला, रङ्गेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ।

सो प्रकरणमा धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो भने रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुरमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएकोमा २३ जना अझै फरार छन् ।

अभियोगपत्र अध्यक्ष रौनियार र सञ्चालक अञ्जलासहित लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जीतमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, अञ्जला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहम्मद नजाम उद्दिनलाई प्रतिवादी बनाइएको छ ।

यसैगरी अदालतमा दायर भएको अभियोग पत्रमा चम्पा गिरि, शम्भुप्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्रप्रसाद सिवाकोटी, सरदराज सिंह, मो नसरुदिन, मनोजकुमार सोनी र यशोदाकुमारी राजवंशी फरार प्रतिवादीमा रहेको उल्लेख छ ।

दायर भएको अभियोग पत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ ।

उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ ।

उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर थिए । शेयर बापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ ।

सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ ।

प्रकाशित मिति:January 9, 2025