काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दाबी गरेका छन्।
उनले अहिलेको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप पनि लगाए। अप्राकृतिक सरकार भएकाले अब चल्न नसक्ने उनको टिप्पणी थियो।
शुक्रबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका छन्।
उनले भने, ‘समाजवादी मोर्चालाई फेरि सक्रिय पार्न पयो भन्ने विषयमा नै मुख्य रूपमा कुरा भइरहेको छ। हामी समाजवादी मोर्चाको बैठक २ गते बस्दै छौँ।
त्यो मोर्चालाई सक्रिय पार्ने कुरामा नै छलफल भएको छ। यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रूपले संसदमा र बाहिर पनि भनेको सुन्नुभएको छ नै। अप्राकृतिक भएकाले अब यो चल्दैन।’