January 11, 2025
काठमाण्डू, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले संसद छलेर अध्यादेशको बाटो अपनाएको भन्दै आपत्ति जनाएको छ ।
सरकारले कानून छलेर देशलाई प्रतिगमनको बाटो लैजान खोजेका उपाध्यक्ष पम्फा भुसालले बताइन् ।
‘देशमा भ्रष्टाचार, महंगी र बेरोजगारीको समस्या जनताले भोगिरहेका छन् । आवश्यकताको कानून नबनाउने, संसदको बैठक नबोलाउने सांसदहरुले जनताका कुरा उठाउँछन् ।
राष्टको कुरा उठाउँछन्’, भुसालले सिन्धुपाल्चोक पुगेर भनिन्, ‘मध्यरातमा सिंहदरबारमा होइन, बालुवाटारमा बैठक राखेर हिजो मात्रै पनि अध्यादेश जारी भएका छन् ।’
उनले गत वर्ष मंसिरमै संसदको हिउँदे अधिवेशन सुरु भएको भन्दै सरकार प्रतिगमनतिर लागेको जिकिर गरिन् । उनले दुई ठूला दलले संविधान संशोधनलाई सरकारमा जाने भर्याङ मात्रै बनाएको दाबी गरिन् ।
माओवादीका सांसद माधव सापकोटाले पनि सरकार संसद बन्द गरेर अध्यादेश ल्याएर निरंकुशताको शैली अघि बढ्न खोजेको आरोप लगाए ।
उनले भने, ‘हिजो मध्यरातसम्म क्याबिनेटको बैठक सञ्चालन गरेर संसद छलेर, प्रचण्ड नेतृत्वको सरकार हुँदा यतिबेलासम्म त प्रिबजेट छलफल सकेर सरकारलाई पठाइसकेका थियौं संसदबाट।
संसद बन्द गरेर अध्यादेश ल्याएर निरंकुशताको शैली सरकारले अबलम्बन गरिरहेको छ ।’
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानून संशोधन गर्न तीन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
सरकारले अध्यादेश ल्याएर प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउन सिफारिस गरेको छ । तर, सरकारले संसदको हिउँदे अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरुले दबाब बढाइरहेको बेलामा सरकारले फेरि अध्यादेश ल्याएको हो ।
उनले जनताको सार्वभौम अधिकार सम्पन्न संंसदहरु प्रतिनिधि र प्रदेशसभाको सबै यथाशिघ्र चाँडो आह्वान गरेर जनताको भावनाहरु बहस गर्ने स्थिति बनाउन माग गरे।सरकार विधि, प्रक्रिया, संविधान, मुल्य मान्यतालाई खण्डित गरेर निरंकुशताको बाटोमा हिँड्न खोजेको पनि आरोप लगाए ।
प्रकाशित मिति:January 11, 2025
January 11, 2025