रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश

  Sampatti News

January 12, 2025

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने अदालतले आदेश दिएको छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका उनलाई प्रहरीको जिम्मा लगाउन काठमाडौँ जिल्ला अदालतले आदेश गरेको हो।

बिहीबार कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको भएपनि आइतबार काठमाडौँ जिल्ला अदालतले भने प्रहरीकै जिम्मा लगाउन आदेश गरेको हो।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको काठमाडौँ जिल्ला अदालतले जानकारी दिएको छ।

आइतबार लामिछानेको बयान सकिएपनि थुनछेक बहस नसकिएकाले अधिकारीको इजलासले प्रहरीकै जिम्मा लगाउन भनेको हो। यो मुद्दामा सोमबार बहस हुने भएको छ।

बहसका लागि लामिछानेले २० वकिल तयार पारेका भएपनि बहस नै सुरु हुन सकेन। रास्वपाको अनुशासन आयोगका पूर्वउपप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपानेले रवि पक्षका वकिल जुटाएका हुन्।

वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ताहरू सुशील कुमार पन्त, रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा नारायण घिमिरे, अधिवक्ताहरू डा.नारायण कँडेल, यज्ञमणि न्यौपाने, सुदीज्ञ पन्त, हरिचन्द्र भट्टराई, टीका ढकाल, गणेश शर्मा, मनिषा गौतम, मधु चौलागाईँसहितका वकिलले रविको पक्षमा पैरवी गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा पुगेका थिए।

काठमाडौँ कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा लामिछानेसहितविरुद्ध पुस २१ गते मुद्दा दर्ता भएको थियो।

लामिछानेसहित यो मुद्दामा ३९ जनाविरुद्ध प्रतिवादी थपिएका छन्। उनीहरूमाथि स्वर्णलक्ष्मीबाट १ अर्ब १९ करोड ९५ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारी र गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ।

यसैगरी, पूर्वकोषाध्यक्ष सविना आले मगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामी, पूर्वअध्यक्ष कल्पना कुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बरालविरुद्ध पनि मुद्दा दर्ता भएको छ।

जिबी ग्रुप अफ कम्पनिजका सञ्चालक विशाल तामाङ, असरफ अली सिद्धिकी, नेचर नेष्ट प्रा।लि।का सञ्चालक अनन्त बाबु राई, खिमानन्द कँडेल, बल्लभ नेपाल, निर्देशक गोकुल श्रेष्ठ, देव दीप एग्रिकल्पचर एण्ड एनिमल हस्वेण्ड्री फार्मका सञ्चालक भुपेन्द्र राई, भवती बालुवाखानी प्रा।लि।का सञ्चालक मुखिया कान्छा गुरुङविरुद्ध पनि मुद्दा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ।

यसैगरी, गोर्खा हर्वल प्रोडक्सन प्रा।लि।का सञ्चालक जनक भट्टराई, स्पीङ उड रियलस्टेट प्रा।लि।का सञ्चालक भगवती बम्जन, न्यू सुलक्स अफसेट प्रिन्टर्सका सञ्चालक देवकुमार तामाङ, गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, सारेगामा रेकर्ड प्रा.लि.का सञ्चालक किरण पुडासाईं, गोरखा ग्रुप अफ कम्पनीका शेयरधनी पुष्पराज पौडेल र सुपर सिटी इन्टरप्राइजेजका शेयर सदस्य कृष्णबहादुर पोखरेल प्रतिवादी छन्।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जाहेरी परेको १० महिनापछि मात्र प्रहरीले अनुसन्धान थालेको थियो। यसअघिको सरकारमा अभियुक्त लामिछाने नै गृहमन्त्री बनेपछि प्रहरीले उनीविरुद्ध अनुसन्धान प्रक्रिया रोकेको थियो।

स्वर्णलक्ष्मी सहकारीबाट १६ भन्दा बढी कम्पनीमा २३ करोड ३७ लाख ११ हजार ३२० रुपैयाँ रकम ट्रान्सफर गरिएको अडिट रिपोर्टबाट खुलेको छ। जीबी ९गीतेन्द्रबाबु० राईको हर्बो इन्टरनेसनल प्रालिमा १० करोड २७ लाख ९४ हजार ५२२ रुपैयाँ गएको छ।

यस्तै जीबीकै जीबी ग्रुप अफ कम्पनी प्रालि १ करोड ६९ लाख १ हजार ४२ रुपैयाँ, कुमकुम हर्बल इन्डस्ट्रिज प्रालिमा १३ लाख ११ हजार ४४८ रुपैयाँ, देवदीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्ममा ३ करोड ७८ लाख ७ हजार ९३६ रुपैयाँ रकम ट्रान्सफर गरेर अपचलन गरिएको भेटिएको छ।

सहकारीले सेयर सदस्यबाहेक कुनै पनि व्यक्ति वा कम्पनीलाई ऋण प्रवाह गर्ने व्यवस्था छैन। तर गैरकानुनी रूपमा प्रवाह भएको ऋण चुक्ता नभएपछि सहकारीका बचतकर्ताले राखेको रकम फिर्ता पाएका छैनन्।

उता पोखराको सूर्यदर्शन सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न गत बिहीबार कास्की जिल्ला अदालतले आदेश दिएको थियो।

न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछानेसहित पूरक अभियोगमा समातिएका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो। सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका थिए।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि मुद्दा दर्ता गर्ने तयारी अघि बढाइएको छ।

प्रकाशित मिति:January 12, 2025