शिक्षिकाले कुट्दा ६ वर्षीय बालकको आँखा फुट्यो, न्यायको खोजीमा आमाबुवा

  Sampatti News 2024

January 14, 2025

नवलपरासी । शिक्षिकाको पिटाइबाट पश्चिम नवलपरासीमा एक ६ वर्षीय बालकको आँखा फुटेको छ। जिल्लाको प्रतापपुर गाउँपालिका– ३ स्थित एच पाठशालाको युकेजीमा अध्ययनरत ६ वर्षीय बालक प्रशान्त चौधरीको सोही विद्यालयकी शिक्षिका सञ्जु चौधरीको पिटाइबाट आँखा फुटेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षकले शिक्षिकाको पक्राउ पुर्जी आएको र उनी फरार रहेको बताए। शिक्षिकाको पिटाइबाट बालकको आँखामा गम्भीर चोट लागी आँखाको ज्योति नै गुमाएको पीडित बालकका आफन्तले जनाएका छन्।

प्रतापपुर गाउँपालिका-१ स्थित एच पाठशालामा युकेजीमा अध्ययनरत ६ वर्षका प्रशान्त चौधरीलाई शिक्षिका सन्जु चौधरीले पिट्दा आँखामा चोट लागेको हो । उपचारको क्रममा चिकित्सकले देब्रे आँखाले देख्न नसक्ने बताएको बालकका बुवा नरेन्द्र प्रसाद चौधरीले बताए ।

‘दुई जना खेलेको निहुँमा लट्ठीले पिट्दा आँखामा लागेको रहेछ, डाक्टरले अब आँखा देख्न सक्दैन भनेका छन्, मेरो छोराको भविष्य नै अन्धकार भयो, अब यसको सुनिश्चित भविष्यको जिम्मा कस्ले लिने हो, हामीलाई न्याय चाहियो’ चौधरीले पीडा पोख्नु भयो । कि मेरो बच्चाको आँखा उस्तै बनाइदिनु पर्‍यो, कि भविष्यको जिम्मा लिनु पर्‍यो चौधरीले भने।

विद्यालयमा दुई जना साथीहरू झगडा गरेको र छुट्टाउने क्रममा प्लास्टिकको लट्ठीले हान्दा आँखा फुटेको उनले जानकारी दिए । घटना मङ्सिर १८ गतेको भएपनि मिलापत्र गर्न लागेको अवस्था मात्रै घटना बाहिर आएको बताइएको छ ।

बालकको आँखामा चोटपटक लागेपछि विद्यालयले स्थानीय अस्पताल हुँदै  काठमाडौँको तिलगंगा आँखा अस्पताल लगेको तर पीडितले कानुनी प्रक्रिया चालेपछि विद्यालयले उपचारमा पनि चासो नदिएको पीडित पक्षको गुनासो छ ।

यतिबेला आफूहरूले बाल अधिकार कर्मी र राष्ट्रिय मानवअधिकारमा पनि उजुरी दिएको बालकका बुवा नरेन्द्र चौधरीले बताए ।

‘हामी कहाँ उजुरी आएको छ हामीले पनि पहल गरेका छौँ,अब प्रहरी प्रशासन ले के गर्छ त्यो विद्यालयलाई कसरी जिम्मेवार बनाउन सकिन्छ कसरी न्याय हुन्छ हामीले पनि हेरिरहेका छौ’, राष्ट्रिय मानव अधिकार आयोग बुटवलका प्रमुख हरि प्रसाद ज्ञवालीले भने ।

अहिले सिविन नेपालको पहलमा बालकको उपचार  भइरहेको छ । घटनापछि बालकका बुवा मङ्सिर १९ गते नै इलाका प्रहरी सेमरीमा उजुरी दिन गएका थिए । तर, चौकीले यस विषयमा इलाका प्रहरी कार्यालय बर्दघाट जान सुझायो । 

त्यसपछि परिवार बालकको उपचारको लागि काठमाडौँ गए । काठमाडौँबाट चिकित्सकको उपचार प्रतिवेदन पाएपछि मात्र प्रहरीले पुस १६ गते उजुरी लिएको पीडित बालकका बुवा नरेन्द्र प्रसाद चौधरीले गुनासो गरे । प्रहरीले शिक्षिका विरुद्ध पक्राउ पुर्जी जारी गरेपनी शिक्षिका पक्राउ परेकी छैनन् ।

यति बेला न्याय नै नपाइने होकि, छोराको भविष्य के हुने हो भनेर उनका आमाबुवा पिरोलिएका छन् । घटना घटेको एक महिना बितेपनी केही दिन यता मात्र घटना सार्वजनिक रुपमा बाहिर आएको हो ।

प्रकाशित मिति:January 14, 2025