इजरायल र हमासबीच युद्धविरामको सहमति, जनवरी १९ देखि लागू हुने

  Sampatti News 2024

January 16, 2025

एजेन्सी । इजरायल र हमासबीच १५ महिनादेखिको जारी युद्ध अन्त्यका लागि संघर्षविरामको सहमति भएको छ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको सोमबारदेखि लगातारको प्रयत्न बुधबार राति सफल भएको र हमास र इजराइलबीच युद्धविरामको सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले बुधबार पत्रकार सम्मेलनमा दुई पक्षबीच युद्धविरामको सम्झौता भएको जानकारी दिएका छन् । युद्धविरामको सम्झौता आइतबारदेखि कार्यान्वयनमा जाने पनि प्रधानमन्त्री शेख मोहम्मदले बताएको भनेर समाचार संस्था रोयटर्सले लेखेको छ ।

उनले वार्ताकारहरू सम्झौता लागु गर्नका लागि इजराइल र हमासका प्रतिनिधिसँग बाँकी प्रक्रियामा काम गरिरहेको बताएका छन् । योसँगै गाजामा १५ महिनादेखि चलेको रक्तपात अन्त्य भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्झौताले गजामा भइरहेको लडाईंलाई रोक्ने बताएका छन् । ‘प्यालेस्टिनी नागरिकहरूलाई अत्यावश्यक मानवीय सहयोग बढाउनेछ र १५ महिनाभन्दा बढी समयदेखि बन्धकमा रहेकाहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गराउनेछ,’ राष्ट्रपति बाइडेनले बुधबार वासिङ्टनमा भनेका थि ए।

अब यो सम्झौता इसराइली पक्षबाट कार्यान्वयन हुनका लागि त्यहाँको मन्त्रिपरिषदले पारित गर्नुपर्नेछ । त्यसका लागि इसराइली पक्षसँग मध्यस्तकर्ताहरूले थप छलफल गरिरहेको भनेर समाचार संस्था एशोसियटेड प्रेस (एपी)ले लेखेको छ।गाजामा अझै एक सय जना विभिन्न देशका नागरिकहरू हमासको बन्धकमा रहेको बताइएको छ । हमासको बन्धकमा नेपालका विपीन जोशी पनि छन् । इजराइल र हमासबीच पहिलो युद्धविराम सम्झौताको अवधि ६ हप्ताको हुनेछ ।

घोषणा गरिएको सम्झौता १९ जनवरी अर्थात आइतबारदेखि मात्रै लागू हुने जनाइएको छ। हमासद्वारा सञ्चालित नागरिक सुरक्षा एजेन्सीले बुधबार इजरायली हवाई आक्रमणमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिण इजरायलमा हमला गर्दै करिब १,२०० जनाको हत्या गरेको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजामा लगेको थियो।
त्यसपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सञ्चालन गरेको थियो, जसमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ४६,००० भन्दा बढी प्यालेस्टिनीहरूको ज्यान गुमाउन पुगेका थिए।

प्रकाशित मिति:January 16, 2025