तेस्रो कारबार दिन पनि नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो

Nepal Cover
८ माघ २०८१, मंगलवार
image

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार १२.५८ अंक र दोस्रो कारोबार दिन सोमबार ६.७८ अंकले बढेको शेयर बजार निरन्तर तेस्रो कारोबार दिन मंगलबार पनि सामान्य अंकले बढेको छ ।

यसदिन नेप्से परिसूचक ५.०८ अंकले बढेर दुई हजार ६१३.०८ बिन्दुमा बजार बन्द भयो । आज १३ मध्ये ८ उपसमूहको शेयर बढ्दा पाँच उपसमूहको शेयरमूल्य घटेको छ भने कारोबारमा आएका २४३ कम्पनीमध्ये १०६ कम्पनीको शेयर बढ्दा १२९ कम्पनीको शेयरमूल्य ओरालो लागेको छ । बाँकी ८ कम्पनीको शेयर स्थिर रहेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार साढे ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ६९ हजार ८४० पटकको कारोबारमा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँबराबरको १ करोड १६ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९१ रुपैयाँ ५० पैसा बढेर १ हजार ६ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने न्यादि हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको रिभर फल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.९६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको साढे २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।