देशभरको मौसम सफा रहने पूर्वानुमान

  Sampatti News

January 22, 2025

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम  सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई  सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति:January 22, 2025