यू-१९ महिला टी-२० विश्‍वकप: नेपाल समूह चरणबाटै बाहिरियो

  Sampatti News

January 22, 2025

काठमाडौँ । नेपाल मलेसियामा जारी आईसीसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । समूह डीका सबै तीन खेलमा हार बेहोर्दै नेपाल बाहिरिएको हो । 

अष्ट्रेलियाविरुद्धको अन्तिम खेलमा बुधबार नेपाल ८३  रनले पराजित भयो । खेलमा टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १३९ रन बनायो । 

नेपालले कसिलो बलिङ गर्ने क्रममा अष्ट्रेलियाले १४ रन बनाउँदा ३ विकेट झारेको थियो । शुरुआती तीन ओटै विकेट कप्तान पूजा महतोले लिएकी हुन् । तर त्यसपछि भने अष्ट्रेलिया सम्हालिँदा नेपाल कमजोर देखियो । काइम्हे ब्राएले ४५, इलेनर लारोसाले ३१ तथा हसरत गिलले अविजित रहँदै २१ बलमा ३० रन बनाइन् । नेपालका लागि पूजाले ३, सीमना केसीले २ तथा रिया शर्माले १ विकेट लिइन् । 

जवाफमा नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ५६ रनमात्र बनाउन सक्यो । कप्तान पूजा महतोले १८ रन बनाए बाहेक कुनै पनि नेपाली ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

यसअघिको खेलमा नेपाल स्कटल्याण्ड र बंगलादेशसँग पराजित भएको थियो । विश्वकपबाट बाहिरिएको समूह डीको नेपालले चौथो स्थानको प्लेअफमा समूह एको पुछारमा रहने वेष्ट इन्डिज वा मलेसियामध्ये एकसँग शुक्रबार खेल्नेछ । 

वेष्ट इन्डिज र मलेसियाबीचको खेल बिहीबार हुँदैछ । जित्ने टिम अर्को चरणमा पुग्दा हार्ने टिमले शुक्रबार नेपालसँग खेल्ने भएको हो । 

यसअघि नेपाल बंगलादेशसँग ५ विकेटले र स्कटल्याण्डसँग मात्र १ विकेटले पराजित भएको थियो । 

प्रकाशित मिति:January 22, 2025