काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।अहिलेसम्म मृतकमध्ये चार जना नेपालीको सनाखत भएको छ।
बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो । यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।
अधिकारीहरुका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको थियो ।
दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।