January 28, 2025
काठमाडौँ । ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सांसदहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज साँझ ५ बजे ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका संघीय सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् ।
मन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधि सभा सदस्यहरूलाई छलफल गर्नका लागि आज साँझ ५ बजे गृह मन्त्रालयमा बोलाएका हुन् ।
पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने माग स्थानीयले राख्दै आएका छन् । सोही क्रममा गत शनिबार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना र भाग दौडमा लडेर एक जना गरी जम्मा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरूको काठमाडौँमा उपचार भइरहेको छ ।
आन्दोलनरत पक्षसँग वार्ता एवं स्थिति थप तनाव हुन नदिन सरकारको तर्फबाट पहलस्वरूप गृहमन्त्रीले छलफल गर्न लागेका हुन् ।
प्रहरीले दमन गरेको भन्दै विरोधमा उत्रिएकाहरूले आज मेची राजमार्ग, तमोर करिडोर अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । जसकारण ताप्लेजुङमा यातायात ठप्प भएको छ ।
प्रकाशित मिति:January 28, 2025