तनहुँ । वडा सचिवमाथि कुटपिट गर्ने तनहुँको बन्दिपुर गाउँपालिका– ६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्ष बल बहादुर गुरुङले वडा सचिव नवीन भुसाललाई कार्यस्थलमै कुटपिट गरेको घटनाप्रति ट्रेड युनियनकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्। कर्मचारी संगठनहरूले घटनाको कडा शब्दमा भर्त्सना गर्दै सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न माग गरेका छन्।
सोही वडाका वडासचिव नवीन भूसाल कुटपिटबाट सोमबार घाइते भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
भलिबल प्रतियोगितामा इस्टिमेटभन्दा बढीको बिल सचिवले पास नगरेको भन्दै वडाअध्यक्षले आक्रमण गरेका थिए । अध्यक्ष गुरूङको प्रहारबाट घाइते वडासचिव भुसालको अनुहार र घाँटीको भागमा चोट लागेको छ ।
कुटपीटबाट घाँटी सुन्निएकाले बन्दीपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको प्रनाउ थापाले जानकारी दिनुभयो ।