काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा बोल्दै मन्त्री खड्काले कार्यकारी निर्देशक खड्काले सरकारलाई नटेर्ने र सञ्चालक समितिका निर्णयहरू कार्यान्वयन नगर्ने गरेको आरोप लगाए । घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे । राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।
उनले विद्युतको क्षेत्रमा सतप्रतिशत लगानी सरकारकै भएको समेत उल्लेख गरे । उनले घिसिङ आएपछि लोडसेडिङमुक्त नभई पहिले नै ट्रान्समिसन लाइन बनेका कारण भारतबाट विद्युत आयात गरिएको बताए । उनले कुलमानले राम्रो काम गरेको भए विश्लेषण गरेर पुरस्कृत गर्न सकिने भए पनि देवता मान्न नहुने बताए ।
नेपाल सरकारको एक कर्मचारीको विषयलाई लिएर तथ्यहिन कुरा नगर्न उनले सबैमा आग्रह समेत गरे । त्यस्तै बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेक्रममा उनले देशमा विद्युतीय विकास उच्च गतिमा भइरहेको सुनाए। खड्काले सरकारले अबको १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोले सोहीअनुरुप काम गरिरहेको दाबी गरेका छन् ।
आफूले मन्त्रालय सम्हाले यता १६ वटा जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र दिइएको उनको भनाइ छ । १४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरेको समेत खड्काले बताए । अहिले ९५० मेगावाट भारत निर्यात गरिरहेको खड्काले जानकारी दिए। उनले सर्वेक्षणका आधारमा अबको १० वर्षमा १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक खपत गर्ने र बाँकी रहेको विद्युतको लागि समेत बजार सुनिश्चित भइसकेको दाबी गरेका छन्।