नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस

  Sampatti News Online

February 23, 2025

काठमाडौं । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस भएका छन् । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।

भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छ । उनी हालका आईजीपी बसन्त बहादुर कुँवरका ब्याची हुन् । बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि एआईजी रविन्द्र केसीले भट्टराईलाई बढुवा गर्नका लागि राजीनामा दिएका थिए ।

एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि प्रहरीमा एआईजीको एक पद रिक्त भएको थियो । केसीले आफू बढुवा हुँदा नै एक महिनामा राजीनामा गरेर भट्टराईको बढुवाका लागि बाटो खुला गर्ने सहमति गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले बताएको छ । एआईजी केसीको राजीनामा गत मंगलबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । उनी आगामी चैत ५ गतेदेखि अनिवार्य अवकासमा जाँदैछन्।

प्रकाशित मिति:February 23, 2025