काठमाडौं । स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवहरू प्रतिस्पर्धामा छन् ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेल सोमबारदेखि (१२ फागुन) सरकारी सेवाबाट अवकाश हुन लागेपछि नयाँ सचिव नियुक्तिका लागि तीन वरिष्ठ चिकित्सकबीच कडा प्रतिस्पर्धा सुरु भएको छ ।
१२ औँ तहमा बढुवा भएको पाँच वर्षीय पदावधिका आधारमा डा पोखरेलले अवकाश पाउन लागेका हुन्। अहिले १२ औँ तहमा डा. पोख्रेलसँगै डा. दीपेन्द्ररमण सिंहसहित पाँच जना छन्। पोखरेल र सिंहले एकै दिन अवकाश पाउनेछन्। त्यसपछि १२ औँ तहमा रहेका डा. सङ्गीता कौशल मिश्रा, डा टङ्कप्रसाद बाराकोटी र डा. विकास देवकोटा स्वास्थ्य सचिवको प्रतिस्पर्धामा देखिन्छन्।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले स्वास्थ्य सेवाको बाह्रौँ तहमा कार्यरत र एघारौँ तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने’ उल्लेख छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अहिले स्वास्थ्य सचिव डा. पोखरेल, प्रशासनतर्फका सचिव हरिप्रसाद मैनाली र तीनजना अतिरिक्त सचिव कार्यरत छन् ।
मिश्रा र बराकोटीसँगै डा. दीपेन्द्ररमन सिंह पनि अतिरिक्त स्वास्थ्य सचिवको रूपमा कार्यरत छन् । तर, सिंह समेत सचिव पोखरेलसँगै माघ ११ गते सेवानिवृत्त हुने भएकाले तीनजना अतिरिक्त स्वास्थ्य सचिवबीच मात्र बढुवाका लागि प्रतिस्पर्धा हुने भएको हो ।
अतिरक्त स्वास्थ्य सचिवहरू पनि विशिष्ट श्रेणीकै कर्मचारी हुन् । तर, मन्त्रालयमा स्वास्थ्य सचिवको दरबन्दी एउटा मात्र हुने हुनाले अन्यलाई अतिरिक्त स्वास्थ्य सचिव भनेर दरबन्दी सिर्जना गरिएको हो । स्वास्थ्य मन्त्रालयमा २ जना अतिरिक्त सचिवको मात्र दरबन्दी छ, तर हाल पनि तीनजना अतिरिक्त स्वास्थ्य सचिव कार्यरत छन् ।
मन्त्रालयमा २ जना, विभागमा एकजना र वीर अस्पतालमा १ जना गरी कुल ४ जना अतिरिक्त स्वास्थ्य सचिवको दरबन्दी छ । तर, वीर अस्पतालमा अतिरिक्त स्वास्थ्य सचिवभन्दा तल्लो तह निर्देशक(सहसचिव)को मातहत दरबन्दी कायम गरिएकाले त्यहाँ अतिरिक्त स्वास्थ्य सचिव जाँदैनन् ।
अतिरिक्त स्वास्थ्य सचिव वीर अस्पतालमा नगएर मन्त्रालयमै कुनै जिम्मेवारी लिएर काम गर्ने गर्छन् । अतिरिक्त सचिवको पनि कार्यकाल ५ वर्ष मात्र हुन्छ ।
फागुन ११ गते स्वास्थ्य सचिवको पद रिक्त भएपछि १२ गते लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठन हुने बढुवा समितिले सचिवका लागि सरकारलाई नाम सिफारिश गर्नेछ । बढुवा गर्दा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनसहितको अंकलाई आधार मानेर सिफारिश गर्नुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा मिश्रा नै पहिलो स्थानमा छिन् । ‘तीनजना अतिरिक्त स्वास्थ्य सचिवका दाबेदार १२ औं तहकै हुन् । तर, मिश्रा १२ औं तहमा बढुवा हुँदा पनि झन्डै १० महिना सिनियर हुन्,’ उक्त स्रोतले लोकान्तरसँग भन्यो, ‘देवकोटा र बराकोटी एकैदिन १२ औं तहमा बढुवा भएका हुन् ।’
ज्येष्ठता र कासमूको आधारमा मिश्राको सम्भावना देखिए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भने देवकोटालाई प्राथमिकतामा राखेको मन्त्रालयकै अर्को स्रोतले बतायो ।
‘बढुवा समितिले मिश्राको नाम नै पहिलो नम्बरमा सिफारिश गर्ने तयजस्तो छ । तर, स्वास्थ्य सचिवको बढुवा क्याबिनेटले गर्ने हुनाले त्यहाँ स्वास्थ्य मन्त्रीले देवकोटालाई रोज्ने सम्भावना प्रबल छ,’ स्रोतले थप्यो, ‘मन्त्रीले आफू अनुकूलको सचिव रोज्न सक्ने सम्भावना रहेकाले मिश्राभन्दा पनि देवकोटाले बाजी मार्ने सम्भावना देखिन्छ ।’