सैनिक कल्याणकारी कोषको सम्पत्ति ८७ अर्ब नाघ्यो

Nepal Cover
१२ फाल्गुन २०८१, सोमबार
image

काठमाडौँ । सैनिक कल्याणकारी कोषको रकम रु. ८७ अर्ब एक करोड पुगेको छ । 

नेपाली सेनाद्वारा आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा  ‘बहुजन हिताय बहुजन सुखाय’को उद्देश्य राखेर स्थापित कोषको रकमगत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पुगेको जानकारी दिइयो।

जसमध्ये बैंक तथा वित्तीय संस्थाहरूमा ७९ अर्ब २८ करोड ५६ लाख नगद मौज्दात रहेको जनाएको छ। त्यसबाहेक विभिन्न परियोजनाहरूमा सेनाले ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ बराबरको लगानी गरेको पनि जनाएको छ। 

नेपाली सेना स्वास्थ्‍य विज्ञान संस्थानमा दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा एक अर्ब ६० करोड ६० लाख रुपैयाँ रहेको छ।

निक्षेपको प्रतिशतमा गिरावट आएकाले सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्य र सार्वजनिक दायित्वहरू प्रभावित पर्ने पनि सेनाले जनाएको छ।

सेनाले कल्याणकारी कोष २०३२ सालमा सुरू गरेको थियो। त्यतिबेला एक करोड २४ लाख रुपैयाँबाट सुरू गरेको थियो।