बालेन शाहले आफ्नो व्यवहार नसुधारेमा आन्दोलन गर्न बाध्य हुन्छौँ : ठाकुर

  Sampatti News Online

February 25, 2025

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कुनै पनि स्थानीय तहद्वारा निर्मित ऐन, कानुन, नियमावली वा मापदण्ड संविधानभन्दा माथि हुन नसक्ने बताएका छन् ।

सदरमुकाम जलेश्वरमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ठाकुरले कुनै पनि स्थानीय तहले नागरिकको संवैधानिक हक खोस्ने ऐन, कानुन, नियमावली वा मापदण्ड निर्माण गरेमा स्वतः खारेज हुनुपर्ने बताए ।

अध्यक्ष ठाकुरले पछिल्लो दिनमा काठमाडौं महानगरले कवाड व्यवसायी प्रति गरेको ज्यादति उपर आपत्ति प्रकट गर्दै उनीहरुलाई विस्थापित गराउन खोजेको आरोप लगाए ।

उनले काठमाडौं महानगरका प्रमुख बालेन साहले अदालतको आदेशको विरुद्ध काठमाडौंका कवाड व्यवसायीको भवन तथा व्यवसायिक संरचनामाथि डोजर चलाउने, व्यवसायीमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गराउने लगायत कार्य गरेर आतङ्क मचाएको आरोप लगाए ।

उनले काठमाडौं महानगर र प्रमुख बालेनद्वारा नगर प्रहरी परिचालन गरेर भइरहेको चरम ज्यादती र संवैधानिक अधिकार हननका घटना रोक्न नेपाल सरकारलाई ध्यानाकर्षण गराए ।

अध्यक्ष ठाकुरले काठमाडौं महानगर र प्रमुख साहले आफ्नो व्यवहार नसुधारेमा लोसपाले अधिकारको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

प्रकाशित मिति:February 25, 2025