March 4, 2025
काठमाडौँ । काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ ।
थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
उनले भने, “पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको यकिन कारण पत्ता लगाई पाइप मर्मतपश्चात् पानी वितरण कार्य सुरु गरिने छ ।” थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ । यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा सो क्षेत्र जलमग्न भएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए ।
यसअघि माघ ३० गते काठमाडौंको बिजुलीबजार–बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो । त्यतिबेला सो क्षेत्रमा रहेका वन कार्यालय लगायतका सरकारी कार्यालयहरु जलमग्न भएका थिए । अदालतको इजलास नै स्थगित गर्नुपरेको थियो ।
बबरमहल क्षेत्रको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको भूमिगत तार बिछ्याउने क्रममा मेलम्चीको ठूलो पाइपमा क्षति पुगेको थियो । अर्को दिन नै पाइप मर्मत गरिएको थियो ।
आज फेरि थापाथली क्षेत्रमा मेलम्चीकै पाइप फुटेको छ तर यहाँ पाइप फुट्नुको कारण भने खुलिसकेको छैन । मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अधिकारीहरु सम्पर्कमा आएका छैनन् ।
प्रकाशित मिति:March 4, 2025
March 14, 2025
March 14, 2025