काठमाडौं । राजावादीहरूको बृहत् शक्ति प्रदर्शनपछि आपसी आरोपप्रत्यारोपमा व्यस्त राजनीतिक दलहरू एक ठाउँमा उभिने तयारीमा छन् ।
१० वर्ष सशस्त्र युद्धमा नहल्लिएको मुटु एक दिनको राजावादीको प्रदर्शनले हल्लिन्छ ? भन्ने अर्थमा प्रचण्डले जवाफ दिएका हुन् । राजावादीको २५ फागुनको प्रदर्शनबारे प्रचण्डले जसरी हल्का जवाफ दिन प्रयास गरेका थिए, उनको हाउभाऊ र गतिविधि भने हतास देखिन्छ । यहीबीचमा विपक्षी दलको नेताको हैसियतमा प्रचण्ड संसदमा सम्बोधन गर्दै छन् ।
अर्थात्, चार दिनयता प्रचण्डमा जुन खाले सक्रियता र अभिव्यक्ति देखिएको छ, त्यसले राजावादीको प्रदर्शनबाट प्रचण्ड दबाबमा रहेको महसुस गर्न सकिन्छ । जस्तो, २६ फागुनको बिहानै खुमलटार निवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक राखे । अनि अघिल्लो दिनको राजावादीको प्रदर्शनको समीक्षा गरे । राजावादी आन्दोलनमा भारतीय भूमिकाको विश्लेषण गरे । राजवादीको प्रदर्शनमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर सार्वजनिकको अर्थबारे पनि बैठकमा विश्लेषण भयो । अर्थात्, भारत पछिल्ला दिनमा नेपालमा के चाहन्छ ? भन्नेमा प्रचण्डको चासो देखिन्छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोन संवाद गरी आफ्ना घोषित कार्यक्रम सबै स्थगित गरेर काठमाडौं फर्किएका प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले यस दिशामा संवाद अघि बढाउन आन्तरिक छलफल थालेको छ भने सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेको बताइएको छ ।
प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको पार्टीका पदाधिकारीको बैठकमा राजावादीको सक्रियता बढेको भन्दै सत्तारुढ दलहरूसँग मिलेर गणतन्त्रको पक्षमा बृहत् प्रदर्शन गर्ने तयारीका बारेमा छलफल गरेको थियो । पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा आइतबार देखिएको भीड २०६५ सालमा राजतन्त्र बिदा भएपछिको पहिलो ठूलो भीडका रूपमा चित्रण गर्दै बैठकले त्यसको प्रतिरोधमा सडक प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल रहेकाले गणतन्त्रवादी र वामपन्थी शक्तिहरू मिलेर जानुपर्ने जिकिर गर्दै समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छलफल गरेपछि प्रतिरोध जुलुस निकाल्ने निर्णय गरिएको बताइएको छ । यसको मिति भने तय गरिएको छैन ।
सो पार्टीका सचिव डोरप्रसाद उपाध्यायले गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने तयारीका विषयमा छलफल पुष्टि गर्दै बैठकमा अध्यक्ष प्रचण्डले परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको धारणा व्यक्त गर्नुभएको बताउनुभयो । उहाँले संविधान संशोधनको बहस चलिरहेका बेला बाह्य शक्तिले हिन्दु राज्यको अवधारणासहित नेपालमा आन्दोलन चर्काउन खोजेको आशंका गर्दै त्यसमा विदेशी शक्तिको पनि उक्साहट हुनसक्नेबारे पनि छलफल भएको बताउनुभयो ।
बैठकमा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोग भएको विषयमा पनि छलफल भएको बुझिएको छ । सो बैठकले पछिल्लो समय हिन्दुवादी र राजावादी सक्रियताले देशको परिस्थिति गम्भीर बनेको निष्कर्ष निकालेको थियो ।
यसैबीच नेकपा (एकीकृत समाजवादी)ले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै परिवर्तनको पक्षमा रहेका शक्तिहरू एकताबद्ध भएर बढ्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको सो पार्टीको सचिवालय बैठकले प्रतिगामी शक्तिहरूको चलखेलको विरोध गर्दै गणतन्त्रको अभ्यासलाई बलियो बनाउनुपर्ने बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।