महोत्तरी । बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा महोत्तरीमा सशस्त्र प्रहरीका एकजना नायब निरीक्षक (सई) पक्राउ परेका छन्।
प्रहरीका अनुसार महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सई धर्मेन्द्र महतो यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार महतोमाथि १० वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोप छ । मर्निङवाकमा जाँदा महतोले अश्लिल शब्द बोलेको र सोही घटनालाई लिएर दिउँसो बालिकाका बुवा सोधपुछ गर्न सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा पुगेका थिए ।
पछि विवादले उग्ररुप लिँदै गएपछि स्थानीयले नाराबाजी गर्दै कारबाहीको मागसहित बेस क्याम्प घेराउ गरेका थिए । स्थानीयले कारबाहीको माग गरेपछि आरोपित महतोलाई सशस्त्र प्रहरीले नै पक्राउ गरेर अनुसन्धानका लागि जनपद प्रहरीलाई बुझाएको छ ।