सामाजिक सञ्जालमा प्रचण्ड परिवारको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी

  Sampatti News Online

March 16, 2025

काठमाडौं । इन्टनेटको पहुँच बढेसँगै सामाजिक सञ्जाल दुरुपयोगका घटना पनि बढेका छन् ।

पछिल्लो समय राजसंस्था पुन:स्थापना पक्षधरको निशानामा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सामाजिक सञ्जालबाट आपत्तिजनक प्रकारका टिप्पणी बढेपछि साइबर ब्युरोमा उजुरी परेको छ ।

‘प्रचण्ड’ले राजसंस्थाविरुद्ध आक्रामक अभिव्यक्ति दिएपछि पछिल्ला तीन दिनयता राजावादीहरूले सामाजिक सञ्जालमा ‘प्रचण्ड’को तीव्र विरोध गरिरहेका छन् ।

विभिन्न फेसबुकलगायत सामाजिक सञ्जालका प्लेटफर्ममा फेक आईडीसमेत बनाएर ‘प्रचण्ड’ परिवारको चरित्रहत्या गर्ने खालका सामग्री राख्नेदेखि अत्यन्त आपत्तिजनक कुराहरू समेत पोष्ट गरिएपछि माओवादी कार्यकर्ताले साइबर ब्युरो गुहारेका हुन् ।

ब्युरोका अनुसार वाईसीएल नेपालका केन्द्रीय सचिव हरि ढकालले आपत्तिजनक र घृणित सामग्रीहरू पोष्ट गर्ने आइडीको पहिचान गरी त्यस्ता व्यक्तिमाथि कानूनबमोजिम कारवाही गर्न प्रमाणसहित केही साथीले साइबर ब्युरोमा जाहेरी दिएका हुन् । 

केही आइडी पहिचान भएको र कानूनबमोजिम अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

प्रकाशित मिति:March 16, 2025