सेयर बजारमा उच्च गिरावट, कारोबार रकम भने बढ्यो

Nepal Cover
११ चैत्र २०८१, मंगलवार
image

काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.०५ अंक (२.१९ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २५८२ अंकमा कायम भएको छ ।

बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो । जम्मा ४ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो ।

यस दिन मूल्य बढेका स्टकहरुको सूचीमा अधिकांश ऋणपत्र र म्युचुअल फण्डहरु रहेका छन्। यस दिन ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ४.५२ प्रतिशत बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.७३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ भने इस्टर्न हाइड्राेपावरकाे शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष सनमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड २० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २१ करोडको शेयर खरिदबिक्री भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको साढे १७ करोडको शेयर किनबेच भएको छ।