March 27, 2025
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमानदारिताका साथ काम गरिरहेको बताएका छन्। प्रधानमन्त्रीले भोलि (शुक्रबार) काठमाडौँमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन् ।
आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली भोलि हुने प्रदर्शनमा के–के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका हुन् ।
शक्रबार (भोलि) समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन् । त्यस्तै, राजावादी समूहले पनि काठमाडौंमै प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । यसैलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले यस्ता प्रदर्शनले केही नहुने जिकिर गरेका हुन् ।
प्रधानमन्त्री ओलीले दैनिक १०–१५ हजार मान्छे उपस्थित भएको जुलुस निस्किरहेको बताउँदै भने, ‘१० १५ हजारका जुलुस नेपालमा निस्किएको निस्किएकै छन् । तिललाई पहाड बनाइरहनुपर्दैन । एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यति हो ।’ यस्ता सभा सधैँ हुने गरेकाले वास्ता नगर्न उनले आग्रह गरे ।
उनले भने, ‘यो सभा सधैं हुने गरेकै छ, भोलि पनि हुने त्यति नै हो । यहाँ एउटा टेरर, त्रास छ । के–के न हुन्छ भनेर । त्यस्तो केही होइन । यस्ता कुराबाट वास्ता नगरेर हाम्रो विकासका काममा अघि बढ्नुपर्छ ।’
प्रकाशित मिति:March 27, 2025