April 10, 2025
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच साँझ ५ बजे छलफल हुने भएको छ । सरकारले वार्तामा आउन पटकपटक आग्रह गरेपनि आन्दोलनरत शिक्षक महासंघले आफनो माग सुनिश्चित नभएसम्म वार्तामा सहभागी नहुने भन्दै अडान राखेको छ ।
यसअघि पटक(पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन । तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ । ३ बजेसम्म आन्दोलनकै कार्यक्रम भएकाले त्यसपछि मात्र छलफलमा जाने महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।
आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ । संसद्को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ ।
महासंघले सहअध्यक्ष पराजुलीको संयोजकत्वमा वार्ता टोली बनाएको छ । वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले २० चैतदेखि सुरु भएको आन्दोलनलाई आज पनि जारी राखेका छन् ।
माइतीघरदेखि बिजुलीबजार पुलसम्मको तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।
प्रकाशित मिति:April 10, 2025
April 17, 2025
April 17, 2025