April 15, 2025
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि काठमाडौं उपत्यकाको आकाश धुम्मिएर गड्याङगुडुङ गरिरहेको छ।
यसैगरी कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था छ। आज साँझ काठमाडौंसहित ताप्लेजुङ, ओखलढुंगा, जिरी, पोखरा लगायतका शहरमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
अहिले देशभरको मौसममा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार र बुधबार वर्षाको सम्भावना कम रहेको तर बिहीबारदेखि आइतबारसम्म धेरै ठाउँमा वर्षा हुने अनुमान रहेको मौसमविदले बताएका छन्।
अर्को साता सोमबारदेखि वर्षाको सम्भावना घट्ने भएकाले त्यसपछि मात्रै बाली भित्र्याउन महाशाखाले किसानलाई सुझाएको छ। अहिले देशका तराई र पहाडी भेगहरूमा गहुँ बाली भित्र्याउने बेला भएको छ। त्यस्तै दलहन र तेलहन बाली पनि भित्र्याउने तयारीमा किसान छन्।
प्रकाशित मिति:April 15, 2025
April 23, 2025
April 23, 2025