काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी विरुद्ध आज अख्तियारमा सुशासनको क्षेत्रमा काम गर्ने एक समूहले उजुरी गरेको छ। बुधबार दर्ता भएको सी–०६०८६९ नम्बरको उजुरी दर्ता पत्रमा दूरसंचार सेवा प्रदायकहरुको नियमन गर्ने जिम्मेवारी पाएको नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भण्डारीले अनुभवको नक्कली कागजात बनाएको र हाल सो सस्थामा समेत काम हुन नसकेकोले उनी नक्कली हुन भन्ने कुरा व्यबहारमा पुष्टि हुँदै गएको उजुरी दर्ता पत्रमा उल्लेख गरिएको छ। नियुक्ति दिदा अध्यक्ष भण्डारीले पेश गरेको अनुभवको कागजातमा नेपालको कम्पनीमा काम गरेको समयमा नै विदेशी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा काम गरेको उल्लेख छ । एकैपटक नेपालको कम्पनी र बुरुण्डीको कम्पनीमा काम गरेको अनुभव पेश गरेका कारण भण्डारीको सो कागजात शंकास्पदसमेत देखिएको कागज हेर्दा प्रष्ट हुन्छ भनिएको छ।
भण्डारीले संचार तथा सुचना प्रविधि मन्त्रालयमा पेश गरेको कागजातमा सन् २००८ को जनवरी २० सम्म नेपालमा रहेको तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइल ९अहिलेको एनसेल० मा डेपुटी चिफ फाइनान्स अफिसर पदमा काम गरेका छन् । यस्तै, उनले पेश गरेको अर्को कागजातमा बुरुण्डीमा रहेको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा १ जनवरी २००८ देखि ११ जनवरी २०१६ सम्म काम गरेको देखिन्छ । अर्थात १ जनवरी २००८ देखि २० जनवरी २००८ सम्म उनले नेपालको राजधानी काठमाडौँमा तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइलमा डेपुटी चिफ फाइनान्स अफिसरमा काम गरेका थिए भने सोही समयमा अफ्रिकी देश बुरुण्डीको बुजम्बुरामा रहेको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको पदमा रहेर काम गरेको भन्दै अनुभवको कागजात पेश गरेका छन् भन्ने उल्लेख गरिएको छ ।
भण्डारी सो समय कि नेपालको स्पाइस नेपालमा कार्यरत थिएनन्, कि बुरुण्डीको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिएनन् । तत्कालिन संचार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माको सल्लाहकार रहेका भण्डारी मन्त्रीको सल्लाहकार पदमा रहेकै समयमा प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए । प्राधिकरण संचार तथा सुचना प्रविधि मन्त्रालय अन्तरगत पर्ने नियामक निकाय हो । तत्कालिन मन्त्री शर्माले आफ्नै सल्लाहकारलाई प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको भन्दै सोही समयमा पनि उनी र अध्यक्ष भण्डारीमाथि नैतिकताको प्रश्न समेत उठेको थियो । यद्यपि, मन्त्री शर्मा र अध्यक्ष भण्डारीले यो नैतिक प्रश्नप्रति पूर्णत बेवास्ता गरेर नियुक्ति दिइएको थियो। तत्कालिन मन्त्री शर्मा र अध्यक्ष भण्डारीले नैतिक प्रश्नप्रति बेवास्ता गरेपनि अब भने कानुनी प्रश्न पनि उठ्ने देखिएको छ ।
अध्यक्ष भण्डारीले पेश गरेको अनुभवको कागजातमा उनले सन् २००८ को जनवरी १ देखि २० सम्म नेपालको स्पाइस नेपाल, मेरो मोबाइलमा काम गरेका थिएनन् कि बुरुण्डीको लासेल एसयुमा काम गरेका थिएनन् भन्ने हेर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएकोले हामी यो निकायको ध्यानाकर्षण गराउदछौ। अर्को हेर्नुपर्ने विषय के छ भने तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइल अहिले एनसेल भएको छ । बुरुण्डीमा रहेको लासेल एसयु कम्पनी सरकारी बक्यौता तिर्न नसकेर सन् २०२२ मा नै बन्द भइसकेको छ अनुसन्धान गर्दा प्रष्ट हुने भनिएको छ।
अध्यक्ष भण्डारीले बुरुण्डीको बन्द भइसकेको कम्पनीमा कार्यरत रहेको अनुभव पेश गरेर नियुक्ति लिएका छन् । यसरी राज्यलाई ढाटेर नियुक्त भएका अध्यक्षले सो सस्थामा गए संगै हाल सम्म सस्थाको हितका निम्ति कुनै काम पनि गर्न सकेका छैनन तसर्थ अध्यक्ष भण्डारीले पेस गरेका कागजातका बारेमा राज्यलाई ढाट्नु गम्भीर अपराध हो भन्दै तत्काल अनुसन्धान गरि कार्वाही गर्न समेत माग गरिएको बताइएको छ।
पछिल्ला दिनमा अख्तियारले सुशासनको क्षेत्रमा जनता लाई अनुभुती हुने गरि काम गर्दै गइरहेकोले दुर संचार प्राधिकरण पनि प्रबिधि संग जोडिएकाले जनताका माग पूरा गराउन पनि नक्कली काम गर्ने अध्यक्ष भण्डारी लाई कार्वाही हुनेमा आम सर्वसाधारण आशावादी देखिन्छन् ।

