काठमाडौं । काठमाडौंको टोखास्थित झोरबाट २५ करोड बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई कारागार चलानको आदेश दिएको छ ।
कपडा किन्न भन्दै चीन हिँडेको ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा (अमेरिकी डलर र युरो) बरामद भएको थियाे । उक्त विदेशी मुद्रासहित गाडीधनीसमेत रहेका चालक ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका थिए । यता २५ करोडको मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलले फरार छन् ।
उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । दुवै जनालाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत मागदाबी गरिएको छ ।