काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले आन्दोलित शिक्षकलाई आन्दोलन नरोक्न अपिल गरेका छन् ।
शिक्षा सुधारको माग गर्दै विगत २१ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकलाई पटकपटक धोका भएको भन्दै आन्दोलन नरोक्न प्रचण्डले अपिल गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौँको सडकमा आन्दोलन गरिरहेका छन् । पटक-पटक सरकारसँग वार्ता गरे पनि सफल हुन सकेको छैन ।
पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले भने शिक्षकहरूले पटक पटक वार्ता गरेर पनि असफल भएको भन्दै यो पटक धैर्यतापूर्वक आन्दोलन जारी राख्न अपिल गरेका हुन् ।
‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु । तपाईँहरूले पटक पटक आन्दोलन गर्नुभएको, पटक–पटक सम्झौता गर्नुभएको छ र पटक पटक धोका भएको छ,’ ‘प्रचण्ड’ले भने, ‘यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ । शिक्षकहरूको अझै धेरै छ ।’
उनले एमालेकै नेतृ विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयले सरका गैरजिम्मेवार रहेको अर्को प्रमाण भएको पनि बताए ।
शिक्षकहरूले गरेको माग नयाँ नभएको भन्दै सम्झौता अनुसार अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक भएको दाबी गरे ।
‘शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन । हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको भन्दा बाहेक केही होइन,’ ‘प्रचण्ड’ले भने, ‘हिजो जे सम्झौता भएको थियो, त्यो सम्झौता अनुसार ऐन बनाइदेऊ भनेको मात्रै हो । तर, त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि के हुन्छ ।’