कक्षा १२ को प्रश्न पत्र ‘आउट’ भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

Nepal Cover
२१ बैशाख २०८२, आईतवार
image

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को अनिवार्य अङ्ग्रेजी विषयको प्रश्न पत्र परीक्षा अगावै चुहावट भएको भनी सामाजिक सञ्जालमा फैलिएको सूचनालाई भ्रामक र तथ्यहीन भएको बताएको छ ।

आइतबार सञ्चालित कक्षा १२ को अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु हुनुअघि प्रश्नपत्र निश्चित विद्यालयका विद्यार्थीले प्राप्त गरेको भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचनाको आधारमा बोर्डले छानबिन गरेको थियो।

भक्तपुरको जिल्ला परीक्षा समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र बोर्डका कर्मचारीले सम्बन्धित परीक्षा केन्द्रमा पुगेर गरेको अनुसन्धानमा उक्त सूचना भ्रामक र गलत पाइएको विज्ञप्तिमा उल्लेख छ।

बोर्डले परीक्षा जस्तो संवेदनशील विषयमा पुराना प्रश्नपत्रलाई सामाजिक सञ्जालमा राखेर भ्रम फैलाउने कार्य गम्भीर भएको जनाउँदै यस्ता गतिविधिमा संलग्नविरुद्ध कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरेको छ।

साथै, यस्ता भ्रामक सूचनामा विश्वास नगर्न र अध्ययनमा निरन्तरता दिन परीक्षार्थीलाई आग्रह गरिएको छ। “परीक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन सबैको सहयोग अपेक्षित छ,” विज्ञप्तिमा भनिएको छ।

यसैबीच, काठमाडौं वर्ल्ड स्कूल, गुण्डु, भक्तपुरले पनि सोही विषयमा छुट्टै विज्ञप्ति जारी गर्दै आफ्ना विद्यार्थीले प्रश्नपत्र प्राप्त गरेको भन्ने समाचार तथ्यहीन र भ्रामक भएको जनाएको छ। 

स्कूल प्रशासनले यस्ता गतिविधिले विद्यार्थीको मनोबलमा नकारात्मक असर पार्ने भन्दै सबै पक्षलाई जिम्मेवार हुन अनुरोध गरेको छ। छानबिनबाट सामाजिक सञ्जालमा फैलिएको प्रश्नपत्र पुरानो भएको पुष्टि भएको स्कूलले उल्लेख गरेको छ।

बोर्ड र स्कूल दुवैले यस्ता सूचनाको आधिकारिकता पुष्टि नगरी सामाजिक सञ्जालमा साझेदारी नगर्न र विद्यार्थीको भविष्यसँग खेलबाड नगर्न अपिल गरेका छन्।