काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको पक्राउबारे चित्तबुझ्दो जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएको छ ।
सोमबार प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै चौधरीले रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने भन्दै जवाफ नआए आफूहरु सरकार छाड्न बाध्य हुने चेतावनी दिए।
‘भोलिकै दिनमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजीले जवाफ दिनु भएन भने सरकार छोड्न बाध्य हुन्छौँ,’ उनले भने । सरकारमा नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी पर्यटन राज्यमन्त्री छन् ।
यही १७ वैशाखमा सर्वोच्च अदालतको मुद्दा शाखामा कार्यरत अधिकृत महिमानसिंह विष्टको पत्रपछि प्रहरीले रेशमलाई प्रकाउ गरेको थियो । पक्राउ गरेर अपहरणको शैलीमा एकाएक डिल्लीबजार कारागार पुर्याएको रेशमका बुबासमेत रहेका सांसद चौधरीले बताए ।
सर्वोच्चका कर्मचारी विष्टको पत्र फर्जी भन्दै केही घण्टामा रेशम चौधरीलाई छाडिएको थियो ।