रौतहट १ जेठ। रौतहटका सिडियो बिनोद कुमार खडका र एसपी नेत्रमणि गिरी सहितको टोली एकसाता अघि दुर्घटनामा मृत्युभएका परिवारको घरमै गएर क्रियापुत्री लाई भेटेका छन्। स्थानिय कटहरिया नगरपालिका ४ स्थित एकसाता अघी सशस्त्र प्रहरी हवल्दारले चलाएको मोटरसाईकलको ठक्करबाट मृत्युभएका फतुवा विजयपुर–४ टेंग्राहा अनूठा राय यादवको घरमा बुधबार सिडियो खडका र एसपी गिरी सहितको टोली पुगेर बिधवा श्रिपती देवी र क्रियापुत्री राजेश यादव लाई भेटेका छन्। मृतक परिवार संग भेटको क्रममा भलाकुसारी गर्दै दोषीलाई कारवाही र क्षतिपूर्ति दिलाउने बारे सान्तवना दिएका छन्।
सिडियो खड्का र एसपी गिरी सहितको टोली दुर्घटनाका मृतक परिवारलाई भेटको क्रममा दुर्घटनाका दोषीलाई कुनै पनि हालतमा कारबाही हुने र मृतक परिवारलाई क्षतिपूर्ति दिलाउने प्रतिवद्धता जनाएका छन्। साथै दुर्घटनामा घाईते भएर बिरगंज स्थित गण्डक अस्पतालमा उपचाररत स्थानिय बर्ष ४० का जिनिस साहको उपचारखर्च तत्काल व्यवस्थापन गर्ने सिडियो खड्काले बताएको त्यहाँ उपस्थित नेपाली कांग्रेसका युवा नेता ज्ञानेन्द्र यादवले जानकारी दिएका छन्।
गत २४ गते सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारमा कार्यरत हवलदार सुवास सिंहले तस्करलाई लखेट्दै चलाएको बा ८४ प ७३८३ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको विआर ३००-७९३६ नम्बरको मोटरसाईकल पुलको दुईसय मीटर पूर्व पट्टी जुधेको थियो।
दुर्घटनामा गम्भीर घाईते भएका भारतीय नम्बरको मोटरसाईकल चालक ५० वर्षीय अनुठा राय यादवको उपचारको क्रममा गण्डक अस्पताल बिरगंजमा मृत्यु भएको थियो। पछाडी बसेका साह घाईते भएका थिए। दुर्घटना पछी किराना सामान सहित मोटरसाईकल छोडेर तस्कर भाग्न सफल भएका थिए। घटना पछी ईलाका प्रहरी कार्यालय गरुडामा कानुन बमोजि दोषीलाई कारबाही र नियमानुसार क्षतिपूर्ति दिलाउने दुबैपक्ष बीच सहमती भएको डिएसपी राजन कार्कीले बताउँदै आएका छन्।
युवा नेता तथा फतुवा विजयपुरका मेयरका ज्ञानेन्द्र यादवले आईतवार उनकै पहलमा मृतक परिवारलाई भेट्न सिडियो एसपी आएको भन्दै उनको समर्थकहरुले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर, भिडियो पोष्ट गरेका छन्। पीडित परिवारलाई न्याय दिलाउने उद्देश्यले पहल गरेको नेपाली कांग्रेसका युवा नेता यादवले बताएका छन्।
उता दुर्घटना लगत्तै आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले उक्त घटनाका दोषीलाई कारबाही र मृतक परिवारलाई क्षतपूर्ति, घाईतेको उपचारको लागि सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए। त्यतीमात्र नभई उनको पार्टीका नेता कार्यकर्ताले मृतक अनुठा राय यादवको शव समेत ईलाका प्रहरी कार्यालय गरुडा पुगेर दोषीलाई कारवाही, घाईतेको उपचार र क्षतिपूर्ति दिलाउन दवाव दिएका थिए।
अहिले कांग्रेस कार्यकर्ता र आमाजनपा पार्टीका कार्यकर्ता बिच साेही बिषयको जस लिन सामाजिक सञ्जाल फेसबुकमा दुईपक्षीय द्वन्द सुरु भएको छ।