देशभर आज आंशिक बदली, केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

Nepal Cover
९ जेष्ठ २०८२, बिहीबार
image

काठमाडौँ । अहिले देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महासंघका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।