काठमाडौं । गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान पूरा गरी प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
दुई महिनाको अनुसन्धानपछि बुझाइएको प्रतिवेदनमा १०८ जनालाई प्रतिवादी बनाउँदै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह, आपराधिक उपद्रव र सङ्गठित अपराधको मुद्दा चलाउन सिफारिस गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले प्रतिवेदन प्राप्त भएको र आइतबार मुद्दा दर्ता गरिने जनाएका छन् । प्रतिवादीको सङ्ख्या धेरै भएकाले अध्ययनपछि कसलाई कस्तो मुद्दा लगाउने टुङ्गो लाग्नेछ । सङ्गठित अपराधको कसुरमा ६० दिनभित्र मुद्दा दर्ता गर्नुपर्ने भएकाले १५ जेठअघि काठमाडौं जिल्ला अदालतमा मुद्दा पुग्नेछ ।
हाल ५३ जना हिरासतमा छन्, बाँकी केही फरार छन् भने राप्रपाका सांसद धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित केहीलाई हाजिरी जमानीमा छाडिएको छ। प्रदर्शनको नेतृत्व विवादास्पद व्यवसायी दुर्गा प्रसाईँले गरेका थिए । जसलाई भारतबाट पक्राउ गरिएको थियो । अनुसन्धानका लागि प्रहरीले चार युनिटबाट थप टोली परिचालन गरेको थियो ।