देवचुलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एकको मृत्यु, पाँच घाइते

Nepal Cover
२० जेष्ठ २०८२, सोमबार
image

देवचुली । देवचुली नगरपालिका–२, दुम्कौली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। बिहान करिब ८:३० बजे बुटवलबाट नारायणघाटतर्फ बिरामी लिएर जाँदै गरेको ना ४ च ४६१६ नम्बरको एम्बुलेन्स र दुम्कौलीतर्फ गइरहेको बा २० च १२७२ नम्बरको स्कुल भ्यान आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना४च ४६१६ नम्बरको एम्बुलेन्स र विपरीत दिशामा जाँदै गरेको बा२०च ७२ नम्बरको स्कुल भ्यान देवचुली–२ स्थित दुम्कोली चोकमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा परी दिव्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीका भ्यान चालक देवचुली–१ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो । टाउको र दुवै खुट्टामा चोट लागेका सुवेदीको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ९ः२० बजे मृत्यु भएको नेपालले बताए । 

त्यस्तै दुवै सवारीसाधन ठक्कर खाँदा भएका घाइते र एम्बुलेन्सका बिरामीलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको नेपालको भनाइ छ ।