ताप्लेजुङ । खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । ताप्लेजुुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमस्थित सिस्ने खोला नजिकै मंगलबार राति खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेजेन्द्र लिम्बू रहेका छन्। फुङलिङ नगरपालिका–६ उकाली पानीका ३२ वर्षीय अर्जुन गुरुङले २८ वर्षीय लिम्बूमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । घटना राति १ बजेतिरको हो।
प्रहरीका अनुसार अर्जुन गुरुङ र उनकी श्रीमती सरिता लिम्बू फक्ताङलुङ–३ तावास्थित सरिताकी फुपु योगमाया लिम्बूको घरमा पाहुना गएका थिए। त्यहाँ अर्जुन र सरिताबीच सामान्य विवाद हुँदा झगडा भएको थियो। योगमायाले सम्झाएर उनीहरूलाई फुङलिङ–६ उकाली पानीस्थित घर फर्कन भनेकी थिइन् । उनीहरूलाई छिमेकी तेजेन्द्र लिम्बूले साथ दिएका थिए। फर्कने क्रममा सिस्ने खोला नजिकै अर्जुनले अचानक तेजेन्द्रमाथि खुकुरी प्रहार गरी उनको बायाँ कोखमा गम्भीर चोट पुर्याए। घटनास्थलमा नै तेजेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ।
फक्ताङलुङ–३ का वडाध्यक्ष आईतराम लिम्बूले राति नै घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी नायब निरीक्षक विमलकुमार श्रेष्ठको टोली घटनास्थल पुगेको थियो। खुकुरी प्रहार गर्ने अर्जुन गुरुङ हतियारसहित फरार छन्। उनकी श्रीमती सरिता पनि प्रहरीको सम्पर्कमा छैनन्। प्रहरी निरीक्षक विवेक बस्नेतको टोलीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।