काठमाडौँ । वैदेशिक रोजगारका लागि बेलायत पठाई दिन्छु भनी रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ११ करोडभन्दा बढी रकम ठगी गर्ने दुई व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लक्ष्मण पराजुली (४४ वर्ष) र अरुण राज शर्मा (४७ वर्ष) रहेका छन्।
काठमाडौँको नरेफाँटबाट २५ जेष्ठ २०८२ मा पक्राउ परेका यी दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
पराजुलीको स्थायी ठेगाना मोरङको रतुवामाई नगरपालिका–१० र हालको बसोबास काठमाडौँ महानगरपालिका–६, सरस्वती नगर रहेको छ। त्यस्तै, धनुषा सबेला नपा १२ स्थायी घर भई हाल काठमाडौँ ३२ नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज शर्मालाई पक्राउ गरेको छ।
प्रहरी अनुसन्धानअनुसार, यी दुई व्यक्तिले ३८ जना पीडितबाट बेलायत पठाइदिने प्रलोभन देखाएर ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको खुलेको छ। यो ठगीसम्बन्धी मुद्दामा महेश लिम्बुको जाहेरीका आधारमा वैदेशिक रोजगार विभागले अनुसन्धान अघि बढाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जनाएका छन् ।