नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

Nepal Cover
१८ असार २०८२, बुधबार
image

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२ अंकले बढेको छ । आज एक दशमलव २९ प्रतिशतको वृद्धिपछि नेप्से दुई हजार छ सय ९४ दशमलव ८२ को बिन्दुमा कायम भएको हो ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७ अर्ब ३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ८९ हजार ४६८ पटकको कारोबारमा ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार रुपैयाँबराबरको ३ करोड १ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्रीन डेभलपमेन्ट बैंक र खानी खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन नेपाल इन्स्योरेन्सको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चरको मूल्य यस दिन ३.७३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ५३ लाख २ज्ञ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन साहस उर्जाको करिब साढे ४९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।