नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई सोध्यो स्पष्टीकरण

Nepal Cover
१९ असार २०८२, बिहीबार
image

काठमाडौं ।नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिए । 

केही दिनअघि झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाल लक्षित टिप्पणी गर्दै अब पार्टी सिनो बोकेर हिँड्न सक्दैन भनेकी थिइन्।

झाँक्रीले सोही दिन पार्टी कार्यालय पुगेर आफूमाथि लगाइएको आरोप निराधार भएको दाबी गरेकी थिइन् । उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका सम्बन्धमा अनुशासन आयोगले तोकिएको समयसीमाभित्र स्पष्टीकरण मागेको र समयमै जवाफ प्राप्त हुने विश्वास व्यक्त गरे। बैठकमा पतञ्जलि प्रकरणमा अध्यक्ष माधव नेपालमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्था र पार्टीका आन्तरिक विषयमा छलफल भएको खतिवडाले बताए ।

बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी र राजेन्द्र राईले आ–आफ्ना धारणा राखेका थिए । केही नेताहरूको स्वास्थ्य अस्वस्थताका कारण बैठक छोटो समय बसेर स्थगित भएको उनले जानकारी दिए । केन्द्रीय सचिवालयको अर्को बैठक असार २२ गते बस्ने गरी स्थगित भएको खतिवडाले जानकारी दिए।