भारत र बंगलादेशबीचको क्रिकेट सिरिज स्थगित

Nepal Cover
२२ असार २०८२, आईतवार
image

एजेन्सी । भारत र बङ्गलादेशबीच आगामी महिना हुने भनिएको क्रिकेट ह्वाइट बल शृङ्खलाको छ वटा खेल सन् २०२६ सम्मका लागि स्थगित गरिएको दुवै देशका राष्ट्रिय क्रिकेट बोर्डले शनिबार जानकारी दिएका छन् ।

ढाकामा अगस्ट १७ देखि तीन एकदिवसीय र तीन टि–२० खेलको श्रृङ्खला सुरु हुने तयारी भएको थियो ।
गत वर्ष ढाकामा भएको जनविद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा चिसोपन आएको छ ।

बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले खेल श्रृङ्खलालाई सार्न सहमति जनाएका छन् ।

‘अन्तर्राष्ट्रिय क्रिकेट प्रतिबद्धता र दुवै टोलीको तालिकाको सुविधालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।

बङ्गलादेशको बिसिबीले सन् २०२६ सेप्टेम्बरमा भारतलाई स्वागत गर्न आतुर रहेको बताएको छ ।सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहबाट हेलिकप्टरबाट भागेर नयाँदिल्ली पुगेकी हसिनाको बिषयलाई लिएर ढाकामा गहिरो आक्रोश छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्षको जुलाईदेखि अगष्टसम्ममा हसिनाको सरकारले सत्तामा टिकिराख्न गरेका असफल प्रयासका क्रममा प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि भएका झडपमा एक हजार ४०० जनाको मृत्यु भएको थियो ।बङ्गलादेशमा सन् २०२६ को सुरुमा चुनाव हुने अपेक्षा गरिएको छ ।