काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्छ।
महाशाखाले वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा डुबानको जोखिम बढ्न सक्ने बताउँदै नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। यसले जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, यातायात र निर्माण कार्यमा प्रभाव पार्न सक्नेछ।