काठमाडौँ । संघीय निजामती सेवा विधेयको कुलिङ अफ पिरियडमा भएको चलखेल छानबिन गर्न गठित संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। समितिका संयोजक जीवन परियारले उक्त प्रतिवेदन जिम्मा पाएको २९ दिनपछि बुझाएका हुन्।
समितिले ‘कुलिङ अफ पिरियड’को प्रावधानमा नियतवश छेडखानी गरेको ठहर गर्दै राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई नैतिक जिम्मेवार बनाएको छ।
प्रतिवेदन बुझाउँदै समितिका सभापति परियारले प्रतिवेदन निर्माण गर्ने क्रममा सरोकारवाला सबैसँग छलफल गरेको जानकारी दिए । आगामी दिनमा यस प्रकारका त्रुटि हुन नदिन आवश्यक सुझाव दिइएको उनले बताए ।
त्यस्तै प्रतिवेदन बुझ्दै सभामुख घिमिरेले सदनले दिएको कार्यभार पूरा गरेको प्रति धन्यवाद दिँदै समितिले दिएको प्रतिवेदनमा उल्लेख विषयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
प्रतिनिधिसभाले गठन गरेको छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार कंग्रेसका सांसद सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य , माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य रहेका थिए ।