काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ९ विकेट क्षतिमा १४४ रन जोड्यो । पाकिस्तानका लागि अब्दुल समादले २७ र यासिर खानले १८ रन बनाए । क्याप्टेन इरफान खानले नटआउट ४२ र मोहमद वासिमले २३ रनको योगदान गरे ।
पाकिस्तानले अन्तिम ५ ओभरमा ६१ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले ३, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए । कुशल भुर्तेलको नाममा एक विकेट रह्यो । सन्दीप लामिछानेले आफ्नो स्पेलमा २८ रन दिएपनि विकेट भने लिन सकेनन् । एक जना रनआउट भए ।
जारी प्रतियोगितामा नेपालको यो अन्तिम लिग खेल हो । ५ खेलबाट ४ अंक भएको नेपाललाई सेमिफाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ । जारी खेलमा पाकिस्तान विजयी भए सेमिफाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ । पाकिस्तानको ६ अंक छ ।